कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास , युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

आइतबार, १८ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही महत्त्वपूर्ण पक्षमा फरक हुँदै छ। गत विशेष महाधिवेशनबाट विधानमा गरिएको संशोधनलाई कार्यान्वयन गर्दै यसपटक युवा, महिला तथा विभिन्न समुदायको प्रतिनिधित्वदेखि महाधिवेशन सञ्चालन र प्रचारशैलीसम्म नयाँ अभ्यास गर्न लागिएको छ।

यसपटक कांग्रेस महाधिवेशनमा देखिने प्रमुख १८ नयाँ पक्ष यसप्रकार छन् :

१. ३५ वर्षमुनिका युवाको सुनिश्चित प्रतिनिधित्व : यसपटक कांग्रेसले ३५ वर्षमुनिका युवालाई पार्टीको नेतृत्व संरचनामा सुनिश्चित प्रतिनिधित्वको व्यवस्था गरेको छ । वडादेखि केन्द्रसम्मै युवाको सहभागिता बढाउने गरी विधानमै स्पष्ट व्यवस्था गरिएको छ।

२. केन्द्रमा २१ युवा सदस्य : केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका २१ जना युवा सदस्य निर्वाचित हुनेछन्। प्रदेशगत र खुला समूहबाट युवालाई केन्द्रीय नेतृत्वमा ल्याउने व्यवस्था मिलाइएको छ।

३. महिलाका लागि कम्तीमा एकतिहाइ प्रतिनिधित्व : कांग्रेसका विभिन्न तहका कार्यसमितिमा महिलाको प्रतिनिधित्व कम्तीमा एकतिहाइ सुनिश्चित गरिएको छ । यसले वडादेखि केन्द्रसम्म महिला सहभागिता उल्लेख्य रूपमा बढाउने लक्ष्य राखेको छ।

४. सहमहामन्त्रीको संख्या ११ पुग्यो : यसपटक कांग्रेसमा सहमहामन्त्रीको संख्या आठबाट बढाएर ११ पुर्याइएको छ। समावेशी समूहबाट निर्वाचित हुने तथा सभापतिबाट मनोनीत हुने गरी यो व्यवस्था गरिएको हो।

५. ‘ल्याटरल इन्ट्री’को सुरुवात : राजनीतिमा लामो समयदेखि सक्रिय कार्यकर्ताका साथै विभिन्न पेसा, व्यवसाय र क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिलाई पार्टीको मूल नेतृत्वमा ल्याउने बाटो खोलिएको छ। यसै व्यवस्थाअन्तर्गत सातजना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

६. विदेशस्थित नेपालीको केन्द्रीय प्रतिनिधित्व : नेपाली जनसम्पर्क समितिबाट आएका महाधिवेशन प्रतिनिधिहरूबाट ६ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ । यसले प्रवासमा रहेका कांग्रेससम्बद्ध नेपालीलाई केन्द्रीय संरचनामा औपचारिक स्थान दिनेछ।

७. समावेशी प्रतिनिधित्व थप फराकिलो : अपांगता भएका व्यक्ति, अल्पसंख्यक तथा पिछडिएको क्षेत्रको प्रतिनिधित्व केन्द्रीय समितिमा सुनिश्चित गरिएको छ । साथै श्रमिक, प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्वपीडितहरूको प्रतिनिधित्वसमेत ग्यारेन्टी गरिएको छ।

८. २३२ सदस्यीय केन्द्रीय संरचना : नयाँ विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २३२ सदस्यीय बन्नेछ। जसमा १७१ जना निर्वाचित र ६१ जना सभापतिबाट मनोनीत हुनेछन्।

९. प्यानल नबनाउने घोषणा : यसपटक नेतृत्व चयनका क्रममा विगतजस्तो औपचारिक प्यानल बनाएर निर्वाचनमा जाने अभ्यास नगरिने जनाइएको छ । प्रतिनिधिहरूले उम्मेदवार छनोटमा आफ्नो स्वविवेक प्रयोग गर्ने अपेक्षा गरिएको छ।

१०. प्रदेशगत समूहमा बन्दसत्र : करिब सात हजार प्रतिनिधिलाई एउटै हलमा राखेर छलफल गराउनुको साटो छुट्टाछुट्टै समूह बनाएर राजनीतिक, सांगठनिक तथा नीतिगत दस्ताबेजमाथि गहन छलफल गराउने तयारी छ।

११. तीनवटा संरचनामा बन्दसत्र : खुलामञ्चमा हुने महाधिवेशनका बन्दसत्रका लागि ‘हिमाल’, ‘पहाड’ र ‘तराई मधेश’ नामकरण गरिएका तीनवटा ठुला संरचना तयार गरिएको छ । ठुलो संख्याका प्रतिनिधिलाई व्यवस्थित तरिकाले सहभागी गराउन यो कदम चालिएको हो।

१२. प्रतिवेदन डिजिटल रूपमा उपलब्ध : महाधिवेशनका राजनीतिक तथा सांगठनिक दस्ताबेज डिजिटल माध्यमबाट पनि उपलब्ध गराइनेछ । यसले कागजी दस्ताबेजमाथिको निर्भरता ह्वात्तै घटाउनेछ।

१३. छलफलको अभिलेख राखिने : महाधिवेशनमा प्रतिनिधिले राखेका धारणा, सुझाव तथा बहसलाई व्यवस्थित रूपमा अभिलेख गरी अन्तिम दस्ताबेजमा समेटिनेछ।

१४. परम्परागत मतदान प्रणालीमै जाने : विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने तयारी गरिए पनि प्राविधिक तथा व्यवस्थापकीय कारणले अन्तिम समयमा परम्परागत मतपत्रमार्फत नै मतदान गराइने भएको छ।

१५. प्रचारशैलीमा व्यापक परिवर्तन : काठमाडौंका सडकमा ठुला गेट, होर्डिङ बोर्ड, तोरण र अत्यधिक झन्डा राख्ने शैलीलाई निरुत्साहित गरिएको छ। उम्मेदवारहरूलाई डिजिटल माध्यमबाट प्रचार गर्न जोड दिइएको छ भने पर्चा छाप्न र मतदानस्थलमा वितरण गर्न रोक लगाइएको छ।

१६. उद्घाटन र बन्दसत्र खुलामञ्चमै : १५औँ महाधिवेशनको उद्घाटन र बन्दसत्र दुवै काठमाडौंको खुलामञ्चमै गर्ने गरी संरचना निर्माण गरिएको छ।

१७. भड्किलो प्रचारमा रोक : देशले वयहोरेको प्राकृतिक विपतकाे पृष्ठभूमिमा महाधिवेशनलाई भड्किलो र खर्चिलो नबनाउने नीति लिइएको छ। सहर सजावट र प्रचार सामग्रीलाई नियन्त्रित र सीमित पारिएको छ ।

१८. ‘कांग्रेस २.०’ को बहस : नेतृत्व चयनका साथै पार्टीको आगामी राजनीतिक दिशा, संगठन सुधार र नयाँ पुस्ताको भूमिकाबारे गहन बहसलाई प्राथमिकता दिइएको छ । ‘बदलियो कांग्रेस, बदल्छौँ देश’ र ‘कांग्रेस २.०’ जस्ता नारामार्फत पार्टीलाई रूपान्तरणको सन्देश दिने प्रयास गरिएको छ।

यी समग्र परिवर्तनले कांग्रेसको १५औँ महाधिवेशनलाई नेतृत्व चयनमा मात्र सीमित नराखी संगठनको संरचना, प्रतिनिधित्व, वैचारिक बहस र कार्यशैलीमै नयाँ गति दिने अपेक्षा गरिएको छ।

सुझावित समाचार