सडकका थप ५० सहित ६८ रुग्ण ठेक्का तोड्ने तयारी

सोमबार, ४ कार्तिक, २०८२
डिजिटल संस्करण
  • १५ दिनभित्र काम सम्पन्न गर्न सक्ने संशोधित कार्यतालिका र ठेक्का नतोड्ने मनासिब कारण भए प्रमाणसहित आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन सडक विभागको सूचना

सडक विभागले रुग्ण ठेक्कामध्ये थप ५० ठेक्का तोड्ने तयारी गरेको छ । सडक विभागअन्तर्गत दुई सय ५८ ठेक्का रुग्ण छन् । त्यसमा विभागले शुक्रबार र शनिबार गरेर १८ वटा ठेक्का तोड्ने गरी सूचना सार्वजनिक गरिसकेको छ । आइतबार थप ५० वटा ठेक्का तोड्ने सूचना विभागले प्रकाशन गरेको छ । योसँगै सडकतर्फ ६८ वटा ठेक्का तोड्ने प्रक्रिया अघि बढेको छ ।

सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं, इटहरी, जनकपुर पोखरा र सुर्खेतमातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका ५० ठेक्का तोड्ने प्रक्रिया अघि बढाएका छन् । सडक डिभिजन कार्यालय जनकपुरले २१, काठमाडौंले सात, ओखलढुंगा तथा अछाम डिभिजनले पाँच–पाँच, पाल्पा तथा दमौलीले चार–चार र धनकुटा, पोखरा, मध्यपहाडी तथा गोरखा सडक योजनाले एक–एक गरी ५० वटा ठेक्का किन नतोड्ने ? भन्दै आइतबार सार्वजनिक सूचना जारी गरेका छन् । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले ठेक्का लिने, तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका छन् । त्यसपछि विभागले क्रमश: ठेक्का तोड्ने सूचना निकाल्दै आएको छ । सडक विभागका उपमहानिर्देशक इ. प्रभातकुमार झाले रुग्ण ठेक्का तोड्ने गरी प्रक्रिया अघि बढेको बताए । बाँकी रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाउने विषयमा छलफल भइरहेको जानकारी दिए ।

ठेक्का तथा योजनाको पटक–पटक म्याद थप भई तोकिएको अवधिमा समेत निर्माणकार्य सम्पन्न गर्नेतर्फ चासो नदेखाई निर्माणकार्य अधुरो तथा अलपत्र पारी निर्माण व्यवसायी लामो समयदेखि कार्यस्थलमा भौतिक रूपमा उपस्थित नभएर आधारभूत रूपमा ठेक्का उल्लंघन गरेको उल्लेख गरिएको छ । 

विभिन्न मितिमा लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न अनुरोध गराउँदासमेत निर्माण व्यवसायीबाट निर्माणकार्य सम्पन्नतर्फ कुनै चासो नदेखाई ठेक्का सम्झौता उल्लंघन गरिएको जनाइएको छ । 

सूचना प्रकाशित भएको १५ दिनभित्र काम सम्पन्न गर्न सक्ने संशोधित कार्यतालिका, स्रोत–साधन परिचालनको भरपर्दो योजना, कार्य सम्पन्न गर्ने प्रतिबद्धता र ठेक्का नतोड्ने कुनै मनासिब कारण भए सत्यतथ्य प्रमाण राखी स्पष्टीकरणसहित आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन सार्वजनिक आह्वान गरिएको छ । उक्त अवधिमा काम सुरु गर्ने तदारुकता नदेखाएमा सार्वजनिक खरिद कानुनमा भएको व्यवस्थाबमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौटीबापतको रकम, पेस्की जमानत जफत र पेस्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुका साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकीसरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने उल्लेख गरिएको छ ।

सम्झौता तोड्न तयारी गरिएका ठेक्काहरू
सडक डिभिजन जनकपुर धनुषाको जल्लाद नदीमा पुल बनाउन ०७१/७२ मा धुकुचा–म्याग्लुङ जेभी, बाला खोलामा पुल बनाउन ०७३–७४ मा ड्रागोन–दी काराभन जेभी, चारनाथ उछाल खोलामा बक्स कल्भर्ट बनाउन ०७६/७७ मा धुकुचा–विकास–भुवनेश्वरी जेभी, यदुकोहा काजी नदीमा बक्स कल्भर्ट बनाउन ०७६/७७ मा धुकुचा–विकास–भुवनेश्वरी जेभी, पाथर खोलामा पुल बनाउन ०७२/७३ मा बम्ती भण्डारी–श्री नरसिंह, खोल्सी (मंगलपुर)मा पुल बनाउन ०७३/७४ मा गाल्वा–दी काराभान जेभी, साबेला खोलामा पुल बनाउन ०७३/७४ मा ड्रागोन–दी काराभन जेभी, जल्लाद नदीमा पुल बनाउन ०७५/७६ मा नागार्जुन–हेम कन्स्ट्रक्सन जेभी र दुधमती नदीमा पुल बनाउन ०७५/७६ मा नागार्जुन–हेम कन्स्ट्रक्सन जेभीसँग गरिएको ठेक्का तोड्ने गरी सूचना प्रकाशन गरिएको छ ।

यस्तै, जनकपुर डिभिजनले धनुषाकै दुमरिया नदीमा पुल बनाउन ०७७/७८ मा रोशन–लक्ष्मण रेखा जेभीसँग गरेको पनि तोड्ने गरी सूचना निकालेको छ । महोत्तरीको कृष्णपथ–तापानपुर सडक कालेपत्रे गर्न ०७८/७९ मा वल्र्डवाइड–श्रेया–आदर्श जेभी, धनुषाको घोरघास–कुम्राउरा सडक कालेपत्रे गर्न ०७६/७७ मा दिवा–लक्ष्मण रेखा जेभी, घोडघास–अत्रहारघाट कालोपत्रे गर्न ०७७/७८ मा वल्र्डवाइड सुगम जेभी, ड्राइनग सडक निर्माण गर्न ०८१/८२ मा आरके कन्स्ट्रक्सन, महोत्तरी–लोहरपाटी सडक विस्तार गर्न ०८१/८२ मा स्काई कन्स्ट्रक्सन एन्ड सप्लायर्स, एक्लेबार–कमली पुल सडक विस्तार गर्न ०८१/८२ मा वर्षा महत्तो कन्स्ट्रक्सन सप्लायर्स, कचुरी–नहर रोड सडक विस्तार गर्न ०८१/८२ मा एचडी एन्ड विराज कन्स्ट्रक्सन, जंगली भुन्य–छमाथ सडक विस्तार गर्न ०८१/८२ मा भास्कर कन्स्ट्रक्सन, इतहरबा–आउरही परिक्रमा सडक विस्तार गर्न ०८१/८२ मा बाबा बुद्धेश्वरनाथ कन्स्ट्रक्सन र जनकपुर चक्रपथ विस्तार गर्न ०८१/८२ मा केबी–पूर्णचण्डी जेभीबिच भएको ठेक्का तोड्ने गरी सूचना निकालिएको छ ।

यस्तै, सडक डिभिजन साँफेबगर, अछामले ६ वटा ठेक्का तोड्ने गरी सूचना निकालेको छ । त्यसमा मार्ताडी–बिच्छासेन सडक खन्न ०७५/७६ मा सेविका–हेहाडाबाबा जेभी, साँफेबगर–मंगलसेन सडक विस्तार गर्न ०७६/७७ मा सेविका कन्स्ट्रक्सन तथा इन्जिनियरिङ कन्सल्टिङ, साँफेबगर–मार्ताडी सडक मर्मत गर्न ०७६/७७ मा सेविका कन्स्ट्रक्सन तथा इन्जिनियरिङ कन्सल्टिङ, चौखुट्टे–मार्ताडी सडकको विशेष मर्मत गर्न ०७६/७७ मा सेविका कन्स्ट्रक्सन तथा इन्जिनियरिङ कन्सल्टिङ, गाईगढमा स्टिल पुल बनाउन ०६७/६८ मा राजेन्द्र–थेमिग जेभी र साँफे–मंगलसेन सडक पुनर्निर्माण गर्न ०७९/८० मा मास्टा कन्स्ट्रक्सन सप्लायर्ससँग गरिएको ठेक्का पनि तोड्ने गरी सूचना निकालिएको छ ।

यस्तै, सडक डिभिजन हर्कुपर ओखलढुंगाले पनि ६ ठेक्का तोड्ने गरी सूचना निकालेको छ । दिक्तेल–चरीकोट–खान्दीचौर सडक मर्मत–सम्भारमा ०७६/७७ मा निसान–सिंहदेवी जेभी र ०७८/७९ मा मजदुर–नेपाल मेगा, हलेसी–दिक्तेल सडक पुनर्निर्माण गर्न ०७९/८० सुभव निर्माण सेवा, एआरएन सडक संरचनागत निर्माण गर्न ०८१/८२ मा ग्लोबल कन्स्ट्रक्सन, चकेवा–दिक्तेल सडक मर्मत गर्न ०८१/८२ मा मायुमी कन्स्ट्रक्सन, सांघुटार–कुइभिर सडक विस्तार गर्न ०७३/७४ मा कान्छाराम कन्स्ट्रक्सनसँग गरेको ठेक्का सम्झौता तोड्ने गरी सूचना निकालिएको छ ।

यस्तै, सडक डिभिजन धनकुकाल राँके भञ्ज्याङ सडकको तमार नदीमा पुल बनाउन ०६८/६९ मा स्वच्छन्द निर्माण सेवासँग गरेको सम्झौता पनि तोड्ने गरी सूचना निकालिएको छ । यीबाहेक विभिन्न कार्यालयले थप १६ ठेक्का तोड्ने गरी सूचना प्रकाशन गरेका छन् । 

सुझावित समाचार