नेकपा (माओवादी केन्द्र)ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्ना सबै तहका पार्टी पंक्तिलाई निर्वाचन कार्यालयहरूसँग समन्वय गरी मतदाता नामावली अद्यावधिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन विशेष निर्देशन दिएको छ।
पार्टीका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा जारी गरिएको परिपत्रमा पार्टी कार्यकर्ताहरूलाई आगामी कात्तिक ३० गतेभित्र १६ वर्ष उमेर पुगेका नागरिकहरूको नाम समावेश गर्न, विवाह तथा बसाइँसराइका कारण मतदान केन्द्र परिवर्तन गर्नुपरेमा आवश्यक प्रक्रिया पुर्याउन, साथै नाम, जन्ममिति वा अन्य विवरणमा त्रुटि भएमा सच्याउन पहल गर्न आग्रह गरिएको छ।
परिपत्रमा भनिएको छ, ‘निर्वाचनमा सहभागी हुने जनताको नामावली अद्यावधिक गर्नु लोकतान्त्रिक अभ्यासको पहिलो खुड्किलो हो। त्यसैले सम्पूर्ण पार्टी पंक्तिले यो कार्यलाई गम्भीरतापूर्वक लिई आवश्यक समन्वय र सहजीकरण गर्नुपर्छ।’
यो अभियान निर्वाचन आयोगले सुरु गरेको नामावली अद्यावधिक कार्यक्रमसँग मेल खाने गरी सञ्चालन गर्न भनिएको छ। पार्टीले यसलाई संगठन सुदृढीकरण तथा जनसम्पर्क विस्तारसँग पनि जोडेर हेरेको बताइएको छ।