कर्मचारीको सवारी सुविधा व्यवस्थापन मापदण्ड तर्जुमा गर्दै अर्थ मन्त्रालय

शुक्रबार, २४ असोज, २०८२
डिजिटल संस्करण

सार्वजनिक पद धारण गर्ने पदाधिकारी तथा कर्मचारीको सवारी सुविधा व्यवस्थापन गर्न अर्थ मन्त्रालयले मापदण्ड तर्जुमाको तयारी सुरु गरेको छ । यसका लागि मन्त्रालयले सबै मन्त्रालय तथा मातहतका निकायसँग सवारी सुविधा लिएका पदाधिकारी तथा कर्मचारीको विवरण संकलन गरिरहेको छ ।

५ असोजमा भएको मन्त्रिपरिषद्को निर्णयबमोजिम सवारी सुविधा पाउने पदाधिकारी तथा कर्मचारीहरूलाई सवारी सुविधा व्यवस्थापनसम्बन्धी मापदण्ड बनाउने तयारी गरेको अर्थ मन्त्रालयले जनाएको छ । पदाधिकारी, कर्मचारी तथा सवारी सुविधासम्बन्धी विवरण पठाउन मन्त्रालयले सबै निकायलाई सात दिनभित्र उपलब्ध गराउन पत्राचार गरेको छ । मन्त्रिपरिषद्ले सवारी सुविधासम्बन्धी कानुनमा संख्या किटान भएकोमा बाहेक बढी सवारीसाधन उपलब्ध नगराउने र प्रयोग नगर्ने निर्णय पनि सरकारले गरेको थियो ।

त्यस्तै, नयाँ सवारीसाधन किन्न पनि निरुत्साहित गरिएको थियो । मन्त्रालयले सवारी सुविधा पाउने पदाधिकारीको नाम, थर, दर्जा, हाल प्रयोग भएको सवारीको मोडेल, निर्माण वर्ष, सवारीको किसिम, सवारीचालकको विवरण, दरबन्दी प्रकृति (स्थायी वा अस्थायी), संख्या र सुझाव माग गरिएको छ । त्यसो त अर्थ मन्त्रालयले यसअघि नै कार्य सञ्चालन निर्देशिका, ०८१ मार्फत सवारीसाधन तथा इन्धन सुविधासम्बन्धी मापदण्ड लागू गरिसकेको छ । सवारीसाधन (सञ्चालन तथा मर्मत)सम्बन्धी निर्देशिका, ०७२ ले पनि यसको व्यवस्था गरेको थियो । जसमा सरकारी सवारीसाधन सुविधा पाउने कर्मचारीलाई त्यस्तो सुविधाबापतको रकम उपलब्ध गराइसकेपछि थप इन्धन तथा मर्मतको रकम नदिइने उल्लेख छ ।

नयाँ तर्जुमा हुने मापदण्डले सवारी सुविधालाई थप व्यवस्थित बनाउन खोजेका अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए । उनले भने, ‘मापदण्ड तर्जुमा गर्नका लागि राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीको संयोजकत्वमा बजेट महाशाखाका उपसचिव कमल भट्टराई, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरूको प्रतिनिधित्व रहने गरी गठित कार्यदलले काम गरिरहेको छ । कार्यदललाई ४५ दिनको समय दिइएको छ ।’ 

यस्तो छ अहिलेको मापदण्ड
विशिष्ट श्रेणीका पदाधिकारीलाई कार भए कम्तीमा १३ सय सिसी वा जिप भए कम्तीमा दुई हजार सिसी र राजपत्रांकित प्रथम श्रेणीका पदाधिकारीलाई कार भए कम्तीमा एक हजार सिसी वा जिप भए कम्तीमा दुई हजार सिसी क्षमताको सवारीसाधन उपलब्ध गराउने व्यवस्था छ । 

सवारीसाधनको सुविधा पाएका पदाधिकारीलाई सवारीचालकको पारिश्रमिक, सवारीसाधन मर्मत, इन्धन एवं अन्य सञ्चालन खर्च मासिक पारिश्रमिक भुक्तानी हुँदाका बखत एकमुस्ट दिने व्यवस्था छ ।

राजपत्रांकित विशिष्ट र प्रथम श्रेणीका पदाधिकारीलाई तृतीय तहका हलुका सवारीचालकले प्राप्त गर्ने सुरु तलब स्केलको रकम उपलब्ध गराउने उल्लेख छ । स्थायी सवारीचालकको दरबन्दी जुनसुकै तरिकाले रिक्त भएमा त्यस्तो रिक्त पद स्वत: खारेज हुने उल्लेख छ । केन्द्रीयस्तरका निकायहरूका सवारीसाधनको सुविधा प्राप्त गर्ने पदाधिकारीले सवारीचालकको प्रबन्ध आफैँले गर्नुपर्ने र यसरी प्रबन्ध गर्दा सरकारबाट प्राप्त भएको रकमभन्दा कम पारिश्रमिकमा काम लगाउन नपाइने व्यवस्था छ ।

सुझावित समाचार