इतिहासमा २४ भदौ : प्रदर्शनकारीले निवास नघेर्दासम्म देउवा ढुक्कै थिए

आइतबार, ५ असोज, २०८२
डिजिटल संस्करण

२३ भदौको जेन–जी आन्दोलनमा केपी ओली नेतृत्वको सरकारको बर्बर दमनमा १९ निहत्था युवा मारिएपछि आक्रोशित प्रदर्शनकारीले २४ भदौमा सार्वजनिक सम्पत्ति मात्रै होइन, नेताका घर नै ध्वस्त बनाएपछि उनीहरूको सुरक्षामै चुनौती निम्तियो । त्यस दिन कांग्रेस सभापति शेरबहादुर देउवा कहाँ के गर्दै थिए, सेनाले कसरी उद्धार गर्‍यो ? नयाँ पत्रिकाले तयार पारेको रिपोर्ट :

शेरबहादुर देउवा : प्रदर्शनकारीले निवास नघेर्दासम्म ढुक्कै थिए

बिहान ०९:०० बजे : कर्फ्यु कारण केन्द्रीय कार्यसम्पादन बैठक स्थगित

जेन–जी आन्दोलनबाट भएको क्षतिको समीक्षा गर्न बिहान ९ बजे कांग्रेस सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समिति बैठक राखेका थिए । उनका स्वकीय सचिव भानु देउवाका अनुसार कर्फ्युका कारण बैठक बस्न सकेन, स्थगित गरियो । 

बिहान ०९:३० बजे : निवास घेराउ, प्रधानमन्त्रीसँग गुहार

अघिल्लो राति अबेरसम्म प्रधानमन्त्री ओलीसँग संवादमा रहेका देउवाले पनि परिस्थिति असामान्य बन्ने सोचेकै थिएनन् । गृहमन्त्री रमेश लेखकले राजीनामा दिन खोज्दा पनि सम्झाएर रोक्न खोजेका थिए । ओलीमाथि राजीनामाको दबाब बढ्दा पनि मौन थिए, ढुक्क थिए । तर, बिहान ९ बजेपछि प्रदर्शनकारीले चारैतिरबाट निवास घेरा हालेपछि मात्रै उनी झस्किए । ओलीलाई फोन गरेर थप सुरक्षाकर्मी पठाइदिन गुहारे । 

बिहान ११:०० बजे : प्रदर्शनकारीबाट आक्रमण, सेनाले पुर्‍यायो सैनिक अस्पताल

बाहिर नाराबाजी गरेका केही प्रदर्शनकारी निवासभित्रै छिरे । देउवा र उनकी पत्नी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई आक्रमण गरे । लछारपछार गर्दै कुटपिट गरे, धारिला हतियार प्रयोग गरे । सुरक्षामा खटिएको सेना, सशस्त्र प्रहरी र जनपदको टोलीले बाहिर चौरमा ल्याउँदा पनि आक्रमण जारी थियो । लामो प्रयासपछि सेनाले प्रदर्शनकारीबाट छुटाएर देउवादम्पतीलाई सैनिक अस्पताल पुर्‍यायो । 

सुझावित समाचार