बाजुरा सदरमुकाम मार्तडी–कोल्टी सडकखण्ड तीन महिनादेखि अवरुद्ध हुँदा मार्तडीदेखि पूर्वी–उत्तरी भेगका नागरिकलाई दसैंमा झन् सकस भएको छ । महिनौँदेखि सडक अवरुद्ध हुँदा पूर्वी–उत्तरी क्षेत्रका नागरिकलाई गाउँको उत्पादन बजार पुर्याउन र आवश्य सामान किनेर ल्याउन समस्या परेको हो ।
पहिरो गएका ठाउँमा जोखिमपूर्ण पैदल यात्रा गर्दै ठाउँ–ठाउँमा गाडी बदल्दै महंगो भाडा तिरेर आउजाउ गर्नु परेको छ । यो अवस्थामा मालसामान ढुवानी गर्न असम्भवजस्तै छ । मार्तडी–कोल्टी सडकखण्ड असार दोस्रो सातादेखि नै अवरुद्ध छ ।
बाजुराको दोस्रो व्यापारिक केन्द्र कोल्टी र चार स्थानीय तहका नागरिक र छिमेकी जिल्ला हुम्ला, मुगु, कालीकोटवासीलाई आवतजावत गर्न र दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सास्ती भइरहेको नागरिक समाजका अगुवाइ लालवीर सार्कीले बताए । उनका अनुसार मार्तडी–कोल्टी सडकखण्डको जिल्ली, दानचौर, रजातोली, भासुपाललगायत विभिन्न स्थानको पहिरोले ती खण्डमा सडक पूर्ण रूपमा अवरुद्ध छ । मार्तडीदेखि कोल्टीसम्म करिब ४२ किलोमिटर सडकखण्ड छ । मार्तडीदेखि चुथीसम्मको नौ किलोमिटर सडक, चुथीदेखि ढम्कनेसम्मको ६ किलोमिटर सडकमा केही काम भए पनि अरू निर्माण कार्य अलपत्र छ ।
बडीमालिका नगरपालिका– ७ जिल्लीका ७० वर्षीय प्रमिले ल्यारका अनुसार मार्तडी–कोल्टी सडकखण्डको जिल्ली, रजातोली, भासुपातलमा असार दोस्रो साता आएको भीषण अविरल वर्षासँगै सडकको माथिबाट आएको पहिरोले सडक अवरुद्ध गरेको छ । सडक अवरुद्ध हुँदा आफू घरबाट सदरमुकाम मार्तडीसम्म जान नसकेको बताए । उनले तरकारी, फलफूल बिक्री गरेर आफ्नो १० जना परिवारको गुजारा चलाउँदै आएका थिए । घरदेखि एक किलोमिटर टाढा रहेको जिल्ली बजारसम्म पुर्याउन नसक्दा बारीमा उत्पादन गरेको तरकारी कुहिन थालेको उनले बताए ।
गौरीगंगा नगरपालिका– ६ की सामाजिक अभियन्ता लक्ष्मी कुँवर बोगटीले ४२ किलोमिटर यात्राका लागि दुई हजार भाडा जिप व्यवसायीलाई तिरेको बताइन् । उनका अनुसार जिल्ली, राजातोली, भासुपातलको पहिरो पार गर्न निकै कष्टकर थियोे । राजातोलीमा कम्तीमा सय मिटर लामो पहिरो गएको छ । त्यो पहिरो पार गर्न नागरिकले आफ्नो ज्यान जोमिममा राखेर जानुपर्ने अवस्था छ ।
मार्तडी–कोल्टी सडकमा आवतजावत गर्ने नागरिकले जोखिमपूर्ण यात्रा गरिरहँदा पनि स्थानीय सरकार र सरोकारवाला निकायले आहिलेसम्म कुनै वास्ता नगरेको नागरिकको गुनासो छ । मार्तडी–कोल्टी सडकखण्ड बर्सेनि असारदेखि असोजसम्म करिब पाँच महिना पूर्ण रूपमा अवरुद्ध हुने गर्छ । सडकखण्ड अहिलेसम्म कालोपत्रे नहुँदा बर्सेनि समस्या हुँदै आएको छ । बडीमालिका– ७ को जिल्ली, रजातोली र ढम्कने भासुपातलमा पहिरो खसेपछि सडक अवरुद्ध छ । बाउली, रजातोली, दानसाँघुलगायत ठुला नदीमा पुल नहुँदा नागरिकले कठिनाइ भोग्दै आएका छन् । सडक सुचारु गर्न बडीमालिका नगरपालिका र पूर्वाधार विकास कार्यालयबिच सम्झौता पनि भएको थियो । सम्झौतामा नगरपालिकाको डोजरले सडकको पहिरो हटाउने र बजेट सम्बन्धित निकाय सडक पूर्वाधार कार्यालयले भुक्तानी गर्ने भनिए पनि कार्यान्वयन हुन नसकेको प्रमुख जिल्ला अधिकारी गणेशप्रशाद पौडेलले बताए ।
सडक पूर्वाधार कार्यालय साफेका प्रमुख जंगबहादुर थापाले भने लगातार वर्षाले गर्दा मार्तडी–कोल्टी सडक तत्काल खुलाउन सकिने अवस्था नरहेको बताए । बडीमालिका नगरपालिका– ७ लक्ष्मी माविनजिकैको जिल्ली पहिरो निरन्तर बगिरहने भएकाले वर्षा नरोकिँदासम्म खोल्न नसकिने उनको भनाइ छ । निरन्तर पहिरो माथिबाट बगिरहने भएकाले तलबाट डोजरलाई काम गर्न कठिनाइ हुने गरेको छ । एक सातासम्म पानी पर्न बन्द भएमा खोल्ने प्रयास गर्ने पूर्वाधार विकास कार्यालय प्रमुख थापाले बताए ।