सूचीकृत नभए पनि फेसबुकलगायतले तिर्दै आएका छन् कर

शुक्रबार, २० भदौ, २०८२
डिजिटल संस्करण

सरकारले बन्द गराउने निर्णय गरेको सामाजिक सञ्जाल प्लाटफर्महरू फेसबुक, इन्स्टाग्राम, म्यासेन्जर, एक्स (ट्विटर), युट्युब, सिग्नल, लाइन, थ्रेड्स र ह्वाट्सएप छन् । त्यस्तै, वी च्याट, स्न्यापच्याट, लिंक्डइन, हाम्रो पात्रो, रेडिट, डिस्कर्ड, मिवी, पिन्ट्रेस्ट, सोल, कोरा, सम्ब्लर, क्लब हाउस, मास्टर डन, रम्बल, मि भिके, इमो र जालो पनि बन्द हुने सामाजिक सञ्जालको सूचीमा छन् । यीमध्ये ‘हाम्रो पात्रो’ले सूचीकरणका लागि निवेदन दिएको मन्त्रालयले जनाएको छ ।

नेपालमा सबैभन्दा धेरै प्रयोगमा रहेको सामाजिक सञ्जालमा मेटा कम्पनीको फेसबुक, फेसबुक म्यासेन्जर र युट्युब नै हुन् । तर, सूचीकृत नभए पनि मेटाले नेपालमा कर भने तिर्दै आएको छ । यही फेसबुक बिहीबारदेखि नै नेपाल टेलिकम, एनसेल र वर्ल्डलिंकले बन्द गर्न थालेका छन् । 

०७९/८० देखि लागू गरिएको विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स–डिएसटी)बापत हालसम्म विभिन्न टेक कम्पनीबाट करिब १० करोड राजस्व संकलन भएको ठुला करदाता कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार ०८०/८१ मा मेटालगायत कम्पनीले पहिलोपटक ७० लाख रुपैयाँ डिजिटल सेवा कर (डिएसटी) तिरेका थिए भने ०८१/८२ मा चार करोड ३० लाख तिरेका थिए । 

सामाजिक सञ्जाल निष्क्रिय बनाउँदाका बेफाइदा

सूचना प्रवाहमा अवरोध
सामाजिक सञ्जाल निष्क्रिय हुँदा पहिलो असर सहज रूपमा हुँदै आइरहेको सूचना प्रवाहमा पर्छ । विशेष गरी युवापुस्ता, विद्यार्थी, शोधकर्ता र सञ्चारकर्मीले जानकारी लिन र प्रेसित गर्न प्रयोग गर्ने माध्यम सीमित हुन्छ । आकस्मिक घटनाका समाचार, विपत् व्यवस्थापनका सूचना वा सरकारी निर्देशनहरू छिटो फैलाउन कठिनाइ हुने जानकारहरू बताउँछन् ।

सामाजिक सम्पर्क टुट्ने 
सामाजिक सम्पर्क र सम्बन्धमा पनि असर पर्छ । विदेशमा रहेका नेपालीहरू परिवारसँग जोडिन र संस्कृतिसँग नजिक रहन सामाजिक सञ्जालमा निर्भर छन् । यस्तो माध्यम बन्द हुँदा भावनात्मक दूरी बढ्न सक्छ ।

साना उद्यम र स्टार्टअप व्यवसायमा असर
सामाजिक सञ्जाल निष्क्रिय हुँदा आर्थिक गतिविधिमा पनि असर पर्छ । धेरै साना व्यवसाय, उद्यमी र स्टार्टअपहरूले सामाजिक सञ्जाललाई प्रचार–प्रसार र बजार विस्तारको माध्यम बनाइरहेका छन् । फेसबुक, इन्स्टाग्राममार्फत चल्ने डिजिटल मार्केटिङ बन्द हुँदा उनीहरूको आम्दानीमा प्रत्यक्ष असर पर्ने र व्यवसाय धराशायी बन्ने जोखिम छ । 

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित
सामाजिक सञ्जाल बन्द हुँदा नागरिकको स्वतन्त्र अभिव्यक्ति र लोकतान्त्रिक अधिकारमा धक्का पुग्छ । मानिसहरूले आफ्ना विचार सार्वजनिक गर्न, बहस गर्न वा सरकारी निर्णयमाथि प्रश्न उठाउन सहज प्लाटफर्म गुमाउँछन् । यसले थप असन्तोष र अविश्वास बढाउन सक्छ ।

अन्तर्राष्ट्रिय छवि धमिलिने जोखिम
नेपालको छवि अन्तर्राष्ट्रिय स्तरमा पनि नकारात्मक बन्छ । सामाजिक सञ्जाल बन्द हुनुलाई प्राय: अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण र प्रेस स्वतन्त्रतामा हस्तक्षेपको प्रतीकका रूपमा लिइन्छ । 

See More On

सुझावित समाचार