१४ दिनमा वाणिज्य बैंकहरूको कर्जा १५ अर्ब रुपैयाँले विस्तार भएको छ । गत ३१ साउनसम्म कर्जा प्रवाह ४९ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको थियो । शनिबार (१४ भदौमा) कर्जा प्रवाह ४९ खर्ब ६४ अर्ब रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।
आउँदै गरेको दसैँ–तिहारका लागि वस्तुको माग बढ्दा बजार चलायमान भएपछि कर्जाको माग बढेको हुन सक्ने अर्थशास्त्रीहरू बताउँछन् । कर्जा विस्तारको तुलनामा निक्षेप संकलन भने झिनो अंकमा बढेको छ ।
यो अवधिमा निक्षेप संकलन नौ अर्ब रुपैयाँले बढेको छ । निक्षेपमा ब्याजदर घट्दै गएकाले आकर्षण घटेको देखिन्छ । गत ३१ साउनमा ६४ खर्ब ७९ अर्ब रुपैयाँमा सीमित रहेको निक्षेप संकलन १४ भदौमा ६४ खर्ब ८८ अर्ब रुपैयाँ कायम भएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार शनिबारसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७२ खर्ब ४१ अर्ब रुपैयाँ छ भने कर्जा प्रवाह ५६ खर्ब एक अर्ब रुपैयाँ छ । कर्जा निक्षेपको अनुपात ७६.३९ प्रतिशत कायम छ ।