भिजिट भिसाको सेटिङमा संलग्न एयरलाइन्स र ट्राभल एजेन्सीमाथि छानबिन गर्न सिआइबीलाई पत्राचार

आइतबार, १५ भदौ, २०८२
डिजिटल संस्करण
भिजिट भिसाको सेटिङमा संलग्न एयरलाइन्स र ट्राभल एजेन्सीमाथि छानबिन गर्न सिआइबीलाई पत्राचार

रामचन्द्र तिवारी महानिर्देशक, अध्यागमन विभाग

भिजिट भिसाको सेटिङमा एयरलाइन्स र ट्राभल एजेन्सीको मिलेमतो देखिएको भन्दै छानबिन गर्न अध्यागमन विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई पत्राचार गरेको छ । एयरलाइन्सका कर्मचारीसमेत मिलेर दुईतर्फी टिकट तत्कालै रद्द गर्ने र ट्रान्जिटमै यात्रुलाई छाड्ने घटना देखिएको भन्दै विभागले यसको छानबिन गर्न भनेको हो । 

भिजिट भिसामा कृत्रिम बुकिङ गर्ने र भोलिपल्टै रद्द गर्ने प्रवृत्ति देखिएकाले त्यसतर्फ छानबिन गर्न भनिएको विभागका प्रवक्ता उपसचिव टीकाराम ढकालले बताए । सिआइबीलाई लेखिएको पत्रमा भनिएको छ, ‘विभागले गरेको अध्ययन र पछिल्लो समयमा सरोकारवालाहरूसँग गरिएका छलफल र अन्तक्र्रियाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने केही वायुसेवा कम्पनीहरूले ट्राभल एजेन्सीहरूसँगको मिलेमतोमा ओभर बुकिङ गर्ने एवं ठुलो संख्यामा कृत्रिम बुकिङ गरी भोलिपल्टै उक्त बुकिङ भ्योइड गर्ने र कतिपय यात्रुहरूलाई गन्तव्य मुलुक नपुर्याईकन सेटिङमा ट्रान्जिट मुलुकमै छाड्नेसम्म गरेका तथ्यहरू फेला परेका छन् ।’ 

विभागले त्यस्ता ट्राभलहरूमाथि सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान गर्न भनेको छ । ‘खासगरी भिजिट भिसामा प्रस्थान गर्ने व्यक्तिहरूको आतेजाते टिकट काट्ने र लगत्तै भ्योइड गराउने गरेको पाइएको छ । एकैपटक ठुलो संख्यामा टिकट बुकिङ भ्योइड गराएउँदा सम्बन्धित व्यक्तिले तिरेको ठूलो रकम सम्बन्धित एजेन्सी र बिचौलियाबिच बाँडफाँट हुने गरेकोसमेत बुझिन आएको छ,’ विभागका महानिर्देशक रामचन्द्र तिवारीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘यसैगरी खाडी मुलुकहरूमा अन्तर्राष्ट्रिय उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूका पछिल्ला केही वर्षका भ्योइड गराएका टिकट संख्या, टिकट बुकिङको कार्यमा संलग्न ट्राभल एजेन्सी, त्यस्ता टिकटमा जम्मा भएको रकम र त्यसले सिर्जना गरेको गैरनैतिक आर्थिक कारोबारको गम्भीर अनुसन्धान नर्ग अत्यावश्यक देखिएको छ । यस्ता कारोबारहरूउपर आवश्यक परेमा सम्पत्ति शुद्धीकरणको दृष्टिकोणले समेत छानबिन गर्नुपर्ने हुन सक्ने भएकाले यस्ता क्रियाकलापमा गम्भीर अनुसन्धान र निगरानीसमेत गर्नका लागि अनुरोध गर्दछु ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र पर्यटन मन्त्रालयलाई समेत बोधार्थ दिएर यस्तो पत्र लेखिएको छ । 

विभागले नेपाल एयरलाइन्सलाई पनि यस विषयमा नियमन र अनुगमनलाई प्रभावकारी बनाउन आग्रह गरेको छ । साथै, प्रमुख एयरलाइन्सहरूलाई पत्राचार गरेर विभागले टिकट भ्योइडको विवरणसमेत माग गरेको छ । विमानस्थलस्थित तत्कालीन अध्यागमन प्रमुख तीर्थराज भट्टराईले एयरलाइन्स र ट्राभल एजेन्सीसँग संगठित गिरोह नै चलाएर भिजिट भिसामा जानेसँग पैसा असुलेको खुलिसकेको छ । यसमा अख्तियारले अनुसन्धान गरिरहेको छ । यसमा ग्रिनलाइन तथा फेमली होलिडेजलगायत ट्राभल्समाथि पनि अनुसन्धान भइरहेको छ । 

सुझावित समाचार