सुमोको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलचालकको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार मोटरसाइकलचालक धनुषा धनुषाधाम नगरपालिका– ८ का वर्ष ४८ का विनोद लामाको मृत्यु भएको हो ।
गएको साउन ३० गते मदन भण्डारी लोकमार्गको चौदण्डिगढी नगरपालिका– ६ द्वार खोलाको पुलखण्डमा दुर्घटना हुँदा गम्भीर घाइते भएका लामाको गएराति उपचारको क्रममा मृत्यु भएको डिएसपी दोङको भनाइ छ ।
उनले भने, ‘गाईघाटबाट धरानतर्फ जाँदै गरेको प्र.२–०२–००३ प ३७०८ नम्बरको मोटरसाइकललाई इटहरीबाट गाईघाटतर्फ आउँदै गरेको को.१च ८७९९ नम्बरकाे सुमोले ठक्कर दिँदा मोटरसाइकलचालक लामा गम्भीर घाइते भएका थिए । उनको विराटनगरको नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।’
मृतक लामाकै मोटरसाइकलपछाडि सवार सोही स्थानका वर्ष ४५ की सिफल सदाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार जारी छ । सुमोचालक उदयपुरको त्रियुगा नगरपालिका– ६ का वर्ष ३६ को प्रेम कार्कीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बेल्टार उदयपुरको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको दोङले जानकारी दिए ।