अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबारदेखि सुरु हुने राष्ट्रिय महिला लिग छनोटका लागि १४ क्लबले प्रतिस्पर्धा गर्ने जनाएको छ । छनोट प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंको छहारी युवाले भक्तपुरको एफसी रियलविरुद्ध खेल्नेछ । एन्फा प्रवक्ता सुरेश शाहले सहभागी १४ बाट पाँच टोली महिला लिगका लागि छनोट हुने जानकारी दिए । यसअघि १६ टोलीले छनोट खेल्न नाम दर्ता गराएका थिए । तर, दुई क्लबले प्रक्रिया पुर्याउन नसक्दा १४ क्लबबिच छनोट खेल हुन लागेको हो ।
‘राष्ट्रिय लिगमा छनोट भएका पाँच र विभागीय तीन टोलीबिच फाइनल चरणका खेल हुनेछन् । प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ,’ शाहले भने । छनोट चरणमा सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेका संकटा, चर्च ब्वाइज र न्युरोड टिम (एनआरटी) पनि सहभागी भएका छन् । संकटाले दोस्रोपटक छनोट चरण खेल्न लागेको हो । एनआरटी र चर्च ब्वाइजको भने पहिलो सहभागिता हो ।
नेपाल सुपर लिग (एनएसएल) खेलेका झापा एफसी र बुटवल लुम्बिनी एफसी पनि छनोटमा समावेश भएको एन्फाका प्रवक्ता शाहले बताए ।
स्टुडेन्ट फुटबल काठमाडौं, सिन्धुपाल्चोकको सिन्धुपाल्चोक एफसी, कास्कीको आरएस रिसोर्ट एन्ड बिच, राप्ती फुटबल काठमाडौं, कास्कीकै एनबिएम पोखरा गल्र्स एफसी, रौतहटको नेपाल खेलकुद, कैलालीको लम्की तथा ट्रेनिङ सेन्टर, भक्तपुरको एफसी रियलले छनोटमा प्रतिस्पर्धा गर्ने शाहले बताए । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वस्ट्राइकर सन्तोष साहुखलले सञ्चालन गरेको क्लब एफसी रियल हो ।
समूहका विजेता र उपविजेता छनोट हुने
एन्फाले हरेक टोलीले आ–आफ्नो समूहमा ६ वटा खेल खेल्नुपर्ने जनाएको छ । दुई समूहका विजेता र उपविजेता सिधै एन्फा महिला लिगका लागि छनोट हुनेछन् । समूहको तेस्रो स्थानका टोलीबिच एक नकआउट खेल हुनेछ । छनोटमा ४३ खेल हुनेछ । एन्फाले प्रतियोगिताको अनुमानित कुल बजेट ८९ लाख ७३ हजार ५७१ रुपैयाँ रहेको जनाएको छ ।