रसुवागढी–केरुङ जोड्ने बेलिब्रिज निर्माणको काम आजबाट सुरु गर्दै चीन

आइतबार, १२ साउन, २०८२
डिजिटल संस्करण

चीनले बाढीले बगाएपछि अवरुद्ध भएको रसुवा–केरुङ नाका जोड्न ल्हेन्दे खोलामा आज (आइतबार)बाट बेलिब्रिज निर्माण थाल्ने भएको छ । २४ असारको बाढीले भोटेकोशीको सहायक नदी ल्हेन्देको मितेरी (सीमापुल) बगाएको थियो ।

नेपाल सरकारले स्वीकृति दिएसँगै चीन पक्षले आइतबारबाट निर्माणको काम थाल्ने जानकारी दिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए । ‘तिब्बततर्फ यसअघि नै साइट क्लियरेन्सको काम भइरहेको थियो । आइतबारबाट औपचारिक रूपमा निर्माणको काम थाल्ने जानकारी दिनुभएको छ,’ पौडेलले भने, ‘१५ सेप्टेम्बर (३० भदौ) भित्र निर्माण सक्ने लक्ष्य छ ।’ बाढीले पुल बगाउँदा नाका अवरुद्ध भएपछि नेपाल सरकारले पुल निर्माण र नाका जोड्ने सडक पुनर्निर्माणका लागि चीनसँग आग्रह गरेको थियो । परराष्ट्रले अर्थ, भौतिक पूर्वाधार, कानुनलगायत मन्त्रालयको राय लिएपछि नेपाल र चीनबिच बेलिब्रिज बनाउने समझदारी भएको थियो । चीनले हाललाई बेलिब्रिज बनाउन लागेको हो ।

शनिबार मात्र रसुवाका प्रमुख जिल्ला अधिकारी पौडेल नेतृत्वको टोली र चीनका समकक्षीबिच निर्माणस्थलबाटै भर्चुअल बैठकसमेत भएको छ । बैठकमा उद्धार, राहत एवं पुनर्निर्माण र पुनस्र्थापनाका विषयमा विस्तृत रूपमा द्विपक्षीय छलफल भएको उनले बताए । ‘बेलिब्रिजको यथाशीघ्र निर्माण सम्पन्न गर्न स्थानीय प्रशासनबाट उपयुक्त कार्यवातावरण निर्माणका गर्न आवश्यक समन्वय, सहकार्य र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त भएको छ,’ पौडेलले भने । 

नेपाल र चीनबिच वार्षिक सवा तीन खर्बको व्यापार हुँदै आएको छ । गत आर्थिक वर्ष ०८१/८२ मा नेपालमा चीनबाट तीन खर्ब ४१ अर्ब १० करोड ४५ लाखको आयात भएको छ । यस अवधिमा निर्यात भने दुई अर्ब ६३ करोडको भएको भन्सार विभागको तथ्यांक छ । नेपाल–चीनबिच सबैभन्दा बढी आयात–निर्यात हुने प्रमुख व्यापारिक नाका रसुवागढी–केरुङ हो । गत आर्थिक वर्ष ०८१/८२ मा रसुवा नाका हुँदै ८५ अर्ब २३ करोड २३ लाखको आयात भएको छ । जुन कुल आयातको ४.७२ प्रतिशत हो । यस अवधिमा रसुवा हुँदै दुई अर्ब चार करोड ५२ लाखको निर्यात भएको छ । यो कुल निर्यातको ०.७४ प्रतिशत हो ।

सुझावित समाचार