आयल निगममा बेथिति ः वार्षिक ५० करोड व्ययभार थपिने गरी ढुवानी भाडा वृद्धि, शनिबार कार्यालय खोलेर माइन्युट गर्दै निगम उच्च अधिकारी

शनिबार, ११ साउन, २०८२
डिजिटल संस्करण

कम्तीमा वार्षिक ५० करोड रुपैयाँ व्ययभार थपिने गरी नेपाल आयल निगमले  पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायीको ढुवानी भाडादर वृद्धि गरेको छ । शुक्रबार साँझ बसेको आयल निगमको सञ्चालक समितिको बैठकले पाँचदेखि सात प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको हो ।

नेपाल आयल निगम र समग्र पेट्रोलियम क्षेत्रलाई सुझाव दिन गठन भएका यसअघिका विभिन्न समितिले भने पेट्रोलियम व्यवसायीलाई हाल दिँदै आएको भाडादर बढी भएको र घटाउन सुझाव दिँदै आएका थिए । यसरी वृद्धि गरिएको ढुवानी भाडादर पेट्रोलियम पदार्थको उपभोक्ता मूल्यमा जोडिने भएकाले वृद्धि भएको ढुवानी भाडादरको असर आयल निगमले  निर्धारण गर्ने पेट्रोलियम पदार्थको मूल्यमा समेत देखिने छ । 

विभिन्न समितिले दिएको सुझावलाई लत्याउँदै आयल निगमले पेट्रोलियम व्यवसायीसँग मिलेर उनीहरूको निहित स्वार्थ पूर्तिका लागि ढुवानी भाडा वृद्धि गरेको हो । विभिन्न समितिले दिएको निर्देशनविपरीत बढाइएको ढुवानी भाडादर बाहिर सार्वजनिक भएर विवाद हुने डरले आज शनिबार कार्यालय खोलेर शुक्रबार साँझ सञ्चालक समितिले गरेको निर्णय कार्यान्वयनका लागि माइन्युट भइरहेकाे  छ ।

सञ्चालक समितिले गरेको निर्णय कार्यान्यवनका लागि माइन्युट तयार गर्न आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टसहितका उच्च अधिकारीहरू यति वेला टेकुस्थित केन्द्रीय कार्यालयमा माइन्युट तयार गर्न खटिएका छन् । 

दूरगामी असर पार्ने निर्णयहरू गर्दा आयल निगमका उच्च अधिकारीहरूबिच मत विभाजन हुने गरे पनि कमिसन पाउने यस खालका निर्णय गर्दा आयल निगमका उच्च अधिकारीहरु एक जुट हुने गरेका छन् । त्यसैले शनिबार पनि आयल निगमका उच्च अधिकारीहरू सबै केन्द्रीय कार्यालयमा भेला भएर ढुवानी व्यवसायीहरूलाई कमिसन वृद्धि गरिदिने निर्णयमा हस्ताक्षर गरिदिन उपस्थित भएका छन् । 

तीन वर्षअघि २०८९ कात्तिकमा पनि नेपाल आयल निगमले सञ्चालक समितिबाट निर्णय गराउँदै ट्यांकर ढुवानी व्यवसायीको भाडादर वद्धि गरेको थियो । त्यति वेला वार्षिक करिब ४४ करोड व्ययभार थपिने गरी ढुवानी भाडा बढाइएको थियो । 

सुझावित समाचार