नेप्से ७५ अंकले बढ्दा साढे १६ अर्बको सेयर कारोबार

बिहिबार, २ साउन, २०८२
डिजिटल संस्करण

साताको अन्तिम कारोबार दिन आज बिहीबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। बुधबार ३४ अंकले बढेको नेप्से आज ७५.८४ अंक (२.७१ प्रतिशत)ले बढेर दुई हजार आठ सय ७०.६३ विन्दुमा कायम भएको हो।

‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्ससहित फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि दुई प्रतिशतभन्दा धेरैले बढेका छन्।

३११ कम्पनीका तीन करोड ८६ लाख ३४ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा कारोबार रकम १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो दिन साढे १३ अर्बको सेयर कारोबार भएको थियो।

आज नेप्सेका १३ वटै समूहको सूचकमा हरियाली छाएको छ। अन्य समूह सर्वाधिक पाँच प्रतिशतले बढ्दा जलविद्युत्, लगानी र जीवन बिमा तीन प्रतिशतभन्दा धेरैले बढेका छन्। यसैगरी, वित्त, होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बिमा दुई प्रतिशतभन्दा धेरैले बढेका छन्।

आज २३९ कम्पनीको मूल्य हरियो देखिँदा ट्रेड टावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसैगरी, शुभम् पावर, थ्री स्टार हाइड्रो, इस्टर्न हाइड्रो र बाराही हाइड्रोको मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेका छन्।

आज सबैभन्दा धेरै गुमाउनेमा म्युचल फन्डहरू परेका छन्। एनआइबिएल, एनआइसि एसिया, रिलायबल समृद्धिलगायतका म्युचल फन्डले सातदेखि पाँच प्रतिशतसम्म गुमाएका छन्।

सुझावित समाचार