जग्गा विवादमा आयल निगमको पक्षमा फैसला

स्थानीय दुई व्यक्तिले निगमको जग्गामा हकदाबी माग गर्दै जिल्ला अदालत झापामा डेढ वर्षअघि दायर गरेका थिए मुद्दा

सोमबार, ३० असार, २०८२
डिजिटल संस्करण

झापाको मेचीनगर– १३ स्थित २३ बिघा तीन कट्ठा १३ धुर जग्गामा परेको मुद्दा आयल निगमले जितेको छ । डेढ वर्षअघि जग्गाको वरिपरि तारबार गरेर संरक्षण गर्ने क्रममा स्थानीय छत्रबहादुर र उनकी बहिनी रीता कार्कीले आफूहरूको दुई बिघा जग्गा निगमले हडपेको दाबी गर्दै जिल्ला अदालत, झापामा ०८ चैतमा ‘जग्गा खिचलो’ मुद्दा दायर गरेका थिए ।

उक्त मुद्दा दायर भएको करिब डेड वर्षपछि जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले आइतबार अन्तिम आदेश जारी गर्दै छत्रबहादु र रीता कार्कीको माग दाबी नपुग्ने फैसला गरेको हो । आय निगमका उपप्रबन्धक (कानुन) डिल्लीप्रसाद अधिकारीका अनुसार अदालतको आदेशमा वादीहरूले बिक्री गरेको जग्गा कहाँनेर छ भनेर यकिन गर्न नसकेको र अदालतको आदेशमा नापी कार्यालयबाट भएको नापजाँच पनि तारबार गरिएकोमध्येबाट निगम स्वामित्को भन्दा बढी जग्गा नभेटिएको उल्लेख छ । 

‘मुद्दा दायर गर्ने स्थानीय छत्रबहादुर र रीता कार्कीले निगम स्वामित्वको जग्गाको प्लटभित्र आफ्नो जग्गा भएको स्थान यकिन गर्न नसकेको र उनीहरूले दाबी गरेको जग्गा कसले भोगचलन गरेको हो भन्नेबारे आफैँले जिम्मेवारी लिनुपर्ने विषय पनि फैसलामा उल्लेख छ,’ अधिवक्तासमेत रहेका अधिकारीले भने । उनले निगमका तर्फबाट समेत अदालतमा बहस गरेका थिए ।

कार्की दाजुबहिनीले निगमलाई सात वर्षअघि उक्त स्थानको जग्गा बिक्री गरेका थिए । तर, दुई बिघा जग्गामा उनीहरूले स्वामित्व दाबी गर्दै मुद्दा दायर गरेपछि अदालतले विवादित बनेको कित्ता नम्बर १४० को एक बिघा १० कट्ठा र कित्ता नम्बर १२६६ को १९ कट्ठामध्ये ७ कट्ठासहित सम्पूर्ण जग्गाको नापजाँच गर्न अदालतले आदेश दिएको थियो ।

त्यसपछि जिल्ला अदालतको रोहबरमा नापी कार्यालय, झापाका अधिकृतले डिजिटल प्रविधिको उपयोग गरेर नापजाँचको प्रतिवेदन दिएका थिए । उक्त प्रतिवेदनमा निगमले तारबार गरेको जग्गामा अन्यको स्वामित्व नदेखिएको उल्लेख थियो । सोही प्रतिवेदनका आधारमा अदालतले निगमका पक्षमा फैसला दिएको थियो ।उक्त फैसलापछि तारबार गरी संरक्षण गरेको जग्गा निगम स्वामित्वमा आएको छ । उक्त जग्गामा इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पेट्रोलियम भण्डारणगृह बनाइदिने र भारतको सिलगुडीदेखि पाइपलाइनसमेत बिछ्याएर ल्याइदिने सम्झौता भइसकेको छ । परियोजना निर्माणका लागि आइओसीले डिपिआरसमेत अन्तिम चरणमा पु¥याइसकेको निगमले जनाएको छ ।

सुझावित समाचार