संवैधानिक नियुक्तिको वैधता परीक्षणः राति अबेरसम्म फैसला लेख्दै न्यायाधीशहरू

बुधबार, १८ असार, २०८२
डिजिटल संस्करण

सर्वोच्च अदालतले संवैधानिक निकायमा अध्यादेशमार्फत गरिएका नियुक्तिको वैधता परीक्षणसम्बन्धी मुद्दाको फैसला राति १० बजेसम्म पनि सुनाउन सकेको छैन। राति अबेरसम्म सर्वाेच्चको संवैधानिक इजलास बसिरहेको छ । फैसला लेखनको काम चलिरहेको सर्वाेच्च स्रोत बताउँछ । फैसला लेखिसकिएपछि संवैधानिक इजलासमै फैसला पढेरस सुनाउने तयारी भइरहेको सर्वाेच्च अदालत प्रशासनले जनाएको छ। 

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा रहेको संवैधानिक इजलासले यो मुद्दामा आजै फैसला सुनाउने तयारी छ । न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित इजलासले मुद्दामा फैसला सुनाउनेछ ।  इजलासले यी मुद्दामा गत ३० माघ, २१ फागुन र ६ चैतमा सुनुवाइ गरेको थियो । त्यसपछि ३, ७, ८, ९, १०, २८ र ३० वैशाखमा हेर्दाहेर्दैमा राखी सुनुवाइ सकेको थियो । १ जेठमा अन्तिम सुनुवाइपछि २८ जेठका लागि निसु तोकिए पनि फेरि १८ असारका लागि धकेलिएको हो ।  

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा रहेको गणपूरक संख्याको व्यवस्था संशोधन गरी दुईपटक तत्कालीन सरकारले विभिन्न संवैधानिक पदमा ५८ नियुक्ति सिफारिस गरेको थियो । जसमध्ये पाँचजनाले नियुक्ति बुझेका थिएनन् । नियुक्त भएकाको कार्यकाल ६ वर्षको रहने गरेकोमा पाँचाैँ वर्षमा बल्ल यो मुद्दामा निर्णय आउन लागेको हो ।   

तत्कालीन प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ती अध्यादेश जारी गरेकी थिइन् । ०७७ मंसिर ३० मा अध्यादेश ल्याई ३८ जनाको नाम सिफारिस गरिएको थियो । यसैगरी ०७८ वैशाख २१ मा पनि यस्तै अध्यादेश ल्याइयो र विभिन्न पदमा २० जनाको नाम सिफारिस गरियो । दुवैपटकका नियुक्तिविरुद्ध परेका रिटहरूमा एकैपटक फैसला आउन लागेको छ । 

१ जेठमै सुनुवाई सकिएपछि अहिलेसम्म फैसला आउन सकेको छैन । फैसला सुनाउने मिति सारेर समेत समयमा सर्वाेच्चले फैसला दिन सकेको छैन । 

सुझावित समाचार