कारबाही गर्ने चेतावनीसहित सीमा क्षेत्रको तस्करी नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन

बुधबार, १ जेठ, २०८२
डिजिटल संस्करण

सीमा क्षेत्रमा हुँदै आएको तस्करी एक महिनाभित्र  पूर्ण रूपमा नियन्त्रण नगरे  कारबाही गर्न बाध्य हुने चेतावनी दिँदै गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुरक्षा निकायलाई कडा निर्देशन दिएका छन्। बुधबार विराटनगरमा सुरु भएको प्रदेशस्तरीय सुरक्षा समीक्षा गोष्ठीमा सहभागी कोशीका १४  वटै जिल्लाका सबै सुरक्षा अधिकारीहरूलाई सीमा क्षेत्रमा हुँदै आएको चोरी तस्करी एक महिनाभित्र पूर्ण रूपमा नियन्त्रण गर्न गृहमन्त्री लेखकले कडा निर्देशन दिएका हुन् । 

गृहमन्त्री लेखकले सीमा क्षेत्रबाट हुँदै आएको चोरी तस्करीले भन्सार राजस्व छल्ने मात्र नभएर कानुनको खिल्ली उडाउँदै देशभित्र र अन्तरदेशीय अपराधसमेत बढाइरहेकोले आगामी जेठ महिनाभित्र पूर्ण नियन्त्रण गर्न कडा निर्देशन गरे । गृहमन्त्री लेखकले सुरक्षा  गोष्ठीमा सहभागी कोशी प्रदेशका सबै निकायका सुरक्षा अधिकारीहरूलाई कडा निर्देशन दिँदै भने, ‘तपाईंहरूले प्लान बनाएर जसरी पनि एक महिनाभित्र सीमा क्षेत्रबाट हुँदै आएको चोरी तस्करी नियन्त्रण गरेको हुनुपर्नेछ अन्यथा गृह मन्त्रालय निर्मम हुन बाध्य हुनेछ ।’

सीमा क्षेत्रमा खुलमखुल्ला अवैध पैठारी  हुँदै आएको जानकारी आफूले पाइसकेकाले एक महिनाभित्र अनुभूति हुने गरी नियन्त्रण गर्नुपर्ने गृहमन्त्री लेखकको कडा निर्देशन छ ।   सीमा क्षेत्रमा हुने तस्करीले केही व्यक्तिहरू रातारात मालामाल हुने र मिहिनेत  गरेर उद्योग–व्यापार गर्नेहरू पलायन हुनुपर्ने  अवस्था सिर्जना गरेकोले चोरी तस्करी जसरी पनि नियन्त्रण हुनुपर्ने गृहमन्त्रीले जोड दिए । उनले सर्वसाधारणहरूले उपभोगका लागि केही सामान लिएर आउनु अन्यथा नभए पनि व्यापारिक प्रयोजनका  लागि कानुनको खिल्ली उडाउँदै चोरी पैठारी गर्नेहरूले सधैँभरि संरक्षण पाइरहनु कानुनी शासनकै खिल्ली उडिरहेको बताए । 

नेपाल–भारत सीमा क्षेत्र जोडिएका कोशी प्रदेशका  तराईका जिल्लाहरू झापा, मोरङ र सुनसरी अनि पहाडको इलाम जिल्लाबाट कानुनको बेवास्ता गर्दै खुला रूपमा चोरी तस्करी हुँदै आएको छ । 
 

सुझावित समाचार