रुपन्देहीको दानव नदीमा बेपत्ता भएका दुईजना बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकालेको छ। सोमबार लुम्बिनी सांस्कृतिक नगरपालिका– २ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएकामध्ये दुई बालकको शव सशस्त्रको गोताखोरले निकालेको सशस्त्र प्रहरी २७ नं. गण रुपन्देहीका डिएसपी मोहन न्यौपानेले जानकारी दिए ।
सशस्त्र प्रहरी रुपन्देही गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक मेखराज जोशीको कमान्डमा खटिएको २५ जनाको टोली र स्थानीयवासीको संयुक्त पहलमा आइतबार साँझ १५ वर्षीय राजन यादवको शव फेला पारेको थियो ।
बाँकी दुईजना बच्चाको शव सशस्त्र प्रहरी बल नेपाल बिओपी बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षक रामकुमार घिमिरेको कमान्डमा खटिएको टोली र सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण हेडक्वार्टर शमशेरगन्ज बाँकेबाट खटिएका सशस्त्र प्रहरी निरीक्षक महेन्द्रसिंह ठकुरीको कमान्डमा खटिएको १३ जनाको गोताखोर टोलीले सोमबार बिहान ६ बजे उमेश यादवको शव फेला र ७ बजे मुन्नु हरिजनको शव फेला पारेको सशस्त्र प्रहरी रुपन्देहीले जनाएको छ । उनीहरूको शव पोस्टमार्टमका लागि भीम अस्पताल पठाइएको छ ।