चितुवा आतंकले त्रासमा स्थानीय

बर्दियामा तीन महिनामा दुईजनाले ज्यान गुमाए, दुई घाइते

आइतबार, ३१ चैत, २०८१
डिजिटल संस्करण

केही दिनयता गुलरियामा रहेको सामुदायिक वन तथा केराबारीमा दिनहुँ चितुवा देखिन थालेपछि स्थानीय चिन्तित बनेका छन् । निकुञ्जमा बाघको संख्या बढेसँगै यसअघि कहिल्यै नदेखिने स्थानमा चितुवा देखिन थालेको छ । गुलरिया तथा मधुवनसँग सिमाना जोडिएको कर्तनिया वाइल्ड लाइफ सेन्चुरीबाट समेत चितुवा बस्तीमा आउन थालेपछि स्थानीयमा त्रास बढेको हो ।

गुलरिया नगरपालिका–१ का कृष्ण भुसालले चितुवाले गाउँका पशुचौपाया मार्ने गरेको बताए । ‘कहिलेकाहीँ साँझपख नै चितुवासँग जम्काभेट हुन्छ । दिनहुँ चितुवाको गाउँमा आउँदा त्रास बढेको छ । साँझपख र रातको समयमा घरबाहिर आउन पनि समस्या हुने गरेको छ,’ उनले भने ।

भारतको कर्तनिया वल्र्ड लाइभ सेन्चुरी जोडिएको मधुवन नगरपालिका–७ भाटचोकमा गत ३ फागुन साँझ आँगनमा खेलिरहेका दुई वर्षीय बालक रिहान चलाउनेको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । गत २५ माघमा मधुवन नगरपालिका–७ गंगाबस्तीकी ५१ वर्षीया जुनाकुमारी लामिछानेको खेतमा काम गरिरहेको अवस्थामा चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । खेतमा गहुँ काटिरहेको अवस्थामा गुलरिया नगरपालिका–४ का ६५ वर्षीय बिकुलाल थारूलाई २६ चैतमा चितुवाले आक्रमण गरी घाइते बनाएको थियो । गुलरिया नगरपालिका–५ का नौ वर्षीय उमेश चौधरी २० चैतमा चितुवाको आक्रमणमा परी घाइते भएका थिए । 

डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामकुमार चौधरीले चितुवाको गतिविधि बढेसँगैै समाउन पासो थापिएको बताए । ‘चितुवाको आक्रमण बढेपछि विभिन्न स्थानमा सिसिटिभी जडान गरी चितुवाको गतिविधि निहालिरहेका छौँ । चितुवालाई नियन्त्रणमा लिन प्रयास गरिरहे पनि सफल हुन सकेका छैनौँ । पासोमा पार्नेबित्तिकै समुदायमा चितुवाका कारण हुने जोखिम हुन्छ,’ उनले भने ।

See More On

सुझावित समाचार