मकवानपुर/ लगातारको वर्षाका कारण मकवानपुरको कुलेखानी जलाशयमा पानीको सतह तीव्र गतिमा बढिरहेको छ। शनिबार बिहान ११ बजेको तुलनामा दिउँसो १२ बजेसम्म एक घण्टाको अवधिमा जलाशयको सतह २२ सेन्टिमिटर बढेको छ। पानीको सतह अधिकतम सीमाको नजिक पुग्न थालेपछि आयोजनाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतका अनुसार शनिबार बिहान ११ बजेतिर जलाशयको सतह १ हजार ५२७ दशमलव ९३ मिटर रहेकामा दिउँसो १२ बजे १ हजार ५२८ दशमलव १५ मिटर पुगेको हो। जलाशयको अधिकतम जलसतह सीमा १ हजार ५३० मिटर रहेको छ। पछिल्लो मापनअनुसार जलाशयको सतह अधिकतम सीमाभन्दा १ दशमलव ८५ मिटर मात्रै तल छ।
लगातारको वर्षाका कारण जलाशयमा पानीको बहाब बढिरहेकाले सतह थप उक्लिन सक्ने देखिएको छ। जलाशयको अधिकतम सीमा नजिकिँदै गर्दा बाँधको पानीको सतह सन्तुलित राख्न आवश्यक परे ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने आयोजनाले जनाएको छ।
नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको कुलेखानी प्रथम जलविद्युत् केन्द्रले यसअघि नै पहिलो चेतावनी जारी गरिसकेको छ। जलाशयको सतह व्यवस्थापनका लागि बाँधका ढोका खोल्नुपर्ने अवस्था आए थप सूचना जारी गरिने र चेतावनीको साइरन बजाइने आयोजनाले स्पष्ट पारेको छ।
आयोजनाले बाँधको तल्लो तटीय क्षेत्र तथा नदीकिनार आसपासका बासिन्दालाई नदीबाट टाढा रहन र सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ। जलाशयबाट पानी छाड्नुपर्ने अवस्था आए तल्लो क्षेत्रमा नदीको बहाब बढ्न सक्ने भएकाले नदीकिनारमा आवतजावत नगर्न र सम्भावित जोखिमलाई ध्यानमा राख्न आग्रह गरिएको छ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले पनि जलाशयमा पानीको सतह तीव्र गतिमा बढिरहेको भन्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले नदीकिनार तथा जोखिमयुक्त क्षेत्रमा नबस्न र अग्लो एवं सुरक्षित स्थानमा रहन अनुरोध गरेका छन् ।
आयोजनाले मोबाइलमा प्राप्त हुने एसएमएस तथा आधिकारिक सूचनालाई ध्यान दिन र त्यसअनुसार आवश्यक सावधानी अपनाउन भनेको छ। विशेषगरी देउराली–सिस्नेरी सडकखण्ड प्रयोग गर्ने यात्रुलाई सम्भावित जोखिमलाई ध्यानमा राखेर यात्रा गर्न आग्रह गरिएको छ।