बालुवाटार निमन्त्रणामा प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद लिन पूर्वराष्ट्रपति भण्डारीलाई ओलीको प्रस्ताव

एमालेको सक्रिय राजनीतिमा फर्किन वातावरण बनाउँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

मंगलबार, २५ चैत, २०८१
डिजिटल संस्करण

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पूर्व पार्टी एमालेकै राजनीतिमा फर्किने उद्देश्यले देश दौडाहामा छिन् । एक वर्षआसपासमै एमालेले ११औँ महाधिवेशन आयोजना गर्ने गरी आगामी असोजमा विधान महाधिवेशनको मिति तोकेपछि भण्डारी अध्यक्षकै जिम्मेवारी सम्हाल्ने सोचसहित देश दौडाहामा लागेकी हुन् । उनी पछिल्ला दिनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसँगको संवाद र परामर्शबाटै सहमतिमा नेतृत्व लिने गरी अग्रसर भइरहेकी छिन् ।

भण्डारीलाई पार्टीमा फर्काउन सकिने ग्रिन सिग्नल भने अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले नै दिँदै आएका छन् । गत ४ फागुनमा बालुवाटारमा निम्ता गरेर प्रधानमन्त्री ओलीले भण्डारीसँग लगातार ६–७ घण्टा छलफल गरेका थिए । भण्डारी उपचारको सिलसिलामा थाइल्यान्ड भ्रमण जानुअघि ओलीले पूर्वराष्ट्रपतिसहित परिवारलाई बोलाएरै लन्चसहित छलफल गरेका हुन् ।

  • पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राई भन्छन्–
  • अघिल्लो वर्ष कर्णालीबाट भ्रमण सुरु भयोे । अहिले कोशी र गण्डकीको भ्रमण सकिएको छ । कर्णाली र सुदूरपश्चिम भ्रमणको मिति तय भइसकेको छैन, तर निम्तो आइसकेकाले समय मिलाएर जाने तयारी छ । 

त्यसक्रममा प्रधानमन्त्री ओलीले एघारौँ महाधिवेशनमा आफूलाई सर्वसम्मत अध्यक्षका लागि सहयोग गर्न आग्रह गरेको एक स्थायी समिति सदस्यले बताए । त्यसलगत्तै आमनिर्वाचन हुने भएकाले भण्डारीलाई प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद रोजेर सर्वसम्मत प्रस्ताव गर्ने र नहतारिन सुझाएको ती सदस्यले बताए । त्यसक्रममा पार्टीका नेता–कार्यकर्ताहरूसँग भेटघाट र संवाद जारी राखेर क्रियाशील भइराखे पनि आफूलाई नेतृत्वका आकांक्षीका रूपमा सार्वजनिक रूपमा प्रस्तुत नगर्न प्रधानमन्त्री ओलीले सुझाव दिएका थिए । 

पूर्वराष्ट्रपति भण्डारीले भने नेतृत्वको आकांक्षीका रूपमा औपचारिक रूपमा प्रस्तुत गरेकी छैनन् । ओलीसँग गहिरो संवादपछि भोलिपल्ट थाइल्यान्ड प्रस्थान गर्ने क्रममा उनलाई एमाले केन्द्रीय कार्यालयले नै बिदाइ गरेको थियो । बिदाइका लागि स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायी समिति सदस्य भानुभक्त ढकाल, केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीसहित अनेरास्ववियू र राष्ट्रिय युवा संघको टोली विमानस्थल पुगेको थियो ।

सातवटै प्रदेशको दौडाहामा रहेकी पूर्वराष्ट्रपति भण्डारीले पछिल्लोपटक १४ देखि १७ चैतसम्म लुम्बिनी प्रदेश भ्रमण गरेकी थिइन् । त्यसक्रममा उनले प्रदेशका नेता–कार्यकर्तासँग भेटघाट गरेकी थिइन् । अघिल्लो वर्ष कर्णालीबाट भ्रमण सुरु गरेकी उनी यसबिचमै कोशी र गण्डकी प्रदेश गएकी थिइन् ।

स्वकीयसचिव राजकुमार राईले पूर्वराष्ट्रपति भण्डारीलाई मधेश र सुदूरपश्चिम प्रदेशबाट पनि भ्रमणका लागि निम्ता आएको बताए । ‘मिति तय भइसकेको छैन, तर निम्तो आइसेकाले समय मिलाएर दुवै प्रदेशमा पनि जाने तयारी छ,’ राईले भने । बागमती प्रदेशका नेता–कार्यकर्तासँग भने भण्डारीले नियमितजस्तै भेटघाट र संवादमा छिन् ।

सुझावित समाचार