प्रतिनिधिसभाका पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनावी मैदानमा उत्रन सुझाव दिएका छन् । संविधानविपरीत चलखेल गरे सह्य नहुने उनको चेतावनी छ ।
सोमबार नेपाल बुद्धिजीवी संगठनको भक्तपुर जिल्ला सम्मेलनलाई ठिमीमा सम्बोधन गर्दै सापकोटाले पूर्वराजा गणतन्त्रविरुद्ध गतिविधि गर्न थाले नागार्जुन दरबारबाट पनि लखेटिने चेतावनी दिए । ‘नेपाली जनता संयमित भएकाले त्यतिवेला नागार्जुनमा ठाउँ पाएको हेक्का होस्, चुरीफुरी गरे नागार्जुनबाट पनि जनताले लखेट्नेछन्,’ उनले भने ।
उनले देशको अस्तित्व रहन नदिने षड्यन्त्रसहित माओवादी र वर्तमान व्यवस्थामाथि हमला गर्न खोजिएकोतर्फ नेपाली जनता सचेत रहनुपर्ने बताए । माओवादी पार्टी नभई आन्दोलन भएको भन्दै उनले देश र जनताका विरुद्ध हुने सबैखाले षड्यन्त्र विफल बनाउँदै परिवर्तन तथा देश र जनताको रक्षा गर्ने दाबी गरे ।
प्रवक्ता सापकोटाले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक समावेशी निर्वाचन प्रणालीमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ उन्नत बनाउने र समाजवादमा पुग्ने पार्टी रणनीतिको खुलासासमेत गरे। नेपाल बुद्धिजीवी संगठन भक्तपुर जिल्ला सम्मेलनबाट डा. श्यामशरण श्रेष्ठ अध्यक्षमा दोहोरिएका छन् र कार्यसमिति ५१ सदस्यीय बनेको माओवादी केन्द्रका जिल्ला संयोजक सुनील बासुले बताए ।