नेपालमै कृषियन्त्र उपकरण उत्पादन गर्न कृषिमन्त्रीको आग्रह

आइतबार, ९ चैत, २०८१
डिजिटल संस्करण

कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमै कृषियन्त्र तथा उपकरण उत्पादन गर्न व्यवसायीलाई आग्रह गरेका छन् । अहिले आयात तथा बिक्री भइरहेका कृषि उपकरणको गुणस्तरमा समेत प्रश्न उठाउँदै उनले स्वदेशी माग पूर्ति गर्ने गरी स्तरीय उपकरण नेपालमै उत्पादन गर्न आग्रह गरेका हुन् ।

ललितपुरमा शनिबार आयोजित नेपाल कृषि मेसिनरी व्यवसायी संघको नवौँ वार्षिक साधारणसभामा बोल्दै कृषिमन्त्री अधिकारीले कृषि यान्त्रिकीकरणको प्रवद्र्धनमा व्यवसायीहरूको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् । उनले कृषि उपकरणको कमजोर गुणस्तरका कारण किसानको लागत बढिरहेको भन्दै यसतर्फ सचेत हुन व्यवसायी र कृषकलाई आग्रह गरे ।

कृषिलाई यान्त्रीकरण गर्दै जानुपर्ने आवश्यकता भए पनि नेपालमा कृषि उपकरणको गुणस्तरीयतामा विश्वस्त हुने अवस्था नरहेको उनको भनाइ थियो । उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कृषिमा पर्याप्त सम्भावना भए पनि नेपालले त्यसबाट फाइदा लिन नसकेको बताए । उनले आगामी वर्षका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यान्वयनयोग्य बजेट ल्याउन आग्रहसमेत गरे ।

निर्वाहमुखी कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नुपर्नेमा जोड दिँदै कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न कृषिको यान्त्रीकरण, आधुनिकीकरण र व्यवसायीकरणको गर्नुपर्ने बताए । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले कृषिमा अनुदानको व्यवस्था भए पनि त्यसको दुरुपयोग हुने गरेको उल्लेख  गरे ।

सुझावित समाचार