अख्तियारको उजुरी मिलाइदिन्छु भन्दै घुस लिने प्रशासकीय अधिकृत पक्राउ

बिहिबार, ६ चैत, २०८१
डिजिटल संस्करण

पोखरा महानगरपालिकामा भ्रष्टाचारसम्बन्धी उजुरीको जवाफदेही अधिकारी कपिल गरी २५ हजार घुससहित पक्राउ परेका छन्।

गिरीले कार्यालयका एक कर्मचारीको अख्तियारमा परेको उजुरी मिलाइदिन्छु भन्दै अर्का एक कर्मचारीसँग एक लाख रुपैयाँ मागेका थिए। सोही क्रममा उनलाई घुस लिएको २५ हजार नगदसहित बिहीबार पक्राउ गरिएको अख्तियारको पोखरा कार्यालयका प्रवक्ता राकेश पाण्डेले जानकारी दिए।

पोखराका प्रशासकीय अधिकृतसमेत रहेका गिरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधेका प्रस्टीकरणसँगै प्रश्नहरूको महानगरपालिकाका तर्फबाट उत्तर पठाउने जिम्मेवारीमा थिए। सोही क्रममा महानगरकै कर्मचारीलाई ‘तिमीविरुद्ध अख्तियारमा उजुरी परेकाले सो कुरा मिलाइदिन्छु,’ भन्दै एक लाख घुस मागेको बताइएको छ।

अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले महानगर कार्यालय पारी रहेको एक नर्सरीबाट गिरीलाई पक्राउ गरेको हो।

सुझावित समाचार