बुद्ध एयरको लापरबाही छानबिन गर्न सांसदको माग

शनिबार, २४ फागुन, २०८१
डिजिटल संस्करण

सांसदको प्रश्न– कहिले उड्दै गरेको प्लेनमा धुवाँ निस्कन्छ, कहिले पांग्रा खुस्किन्छ, हाम्रो हवाई क्षेत्र यति बेवारिसे किन ?

जनकपुरमा पांग्रा छाडेर बुद्ध एयरले काठमाडौं उडान गरेको घटनाबारे छानबिन गर्न शुक्रबारको संसद् बैठकमा सांसदहरूले माग गरेका छन् । राप्रपा सांसद दीपक सिंहले बुद्ध एयरले लापरबाही गरी जनकपुर–काठमाडौं उडान गरेकाले छानबिन गर्नुपर्ने माग राखेका हुन् ।

‘हिजो (बिहीबार) भर्खर बुद्ध एयरको जनकपुर एयरपोर्टमा पांग्रा खसेको थियो । काठमाडौंमा एउटा पांग्राले जहाज ल्यान्ड गर्यो । यस्तो  लापरबाही छानबिन गर्नका लागि जाँचबुझ आयोग गठन गरियोस् भन्ने माग राख्छु,’ उनले भने । त्यस्तै, माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामा (तामाङ)ले उच्चस्तरीय छानबिन समिति बनाएर दोषीलाई कारबाही गर्नुपर्ने बताइन् ।

‘नेपालको हवाई क्षेत्र सिध्याउन बारम्बार लापरबाही भइरहेको देखिँदा तुरुन्त उच्चस्तरीय छानबिन गरी दोषीमाथि कारबाही गरी हवाई क्षेत्रको व्यापक सुधारको माग गर्छु,’ उनले भनिन् । बिहीबार काठमाडौं–जनकपुर उडान गर्ने यात्रुको मनमस्तिष्कमा भुइँचालो गएको उनको भनाइ थियो । हवाई क्षेत्र बेवारिसे र कमजोर बन्नुमा सेवाप्रदायक र नियामक दुवैको दोष रहेको उनले बताइन् ।

‘हाम्रो हवाई क्षेत्र यति बेवारिसे किन बन्यो ? यो गम्भीर चिन्ताको विषय बनेको छ । प्राविधिक पक्ष यति कमजोर छ, कहिले उड्दा–उड्दै प्लेनमा धुवाँ निस्कन्छ, कहिले पांग्रा खुस्किन्छ, कहिले उड्दा–उड्दै इमर्जेन्सी ढोका खुल्छ, सांसद लामाले भनिन् । 

सुझावित समाचार