पर्यटकको आवरणमा सुन तस्करी

करिब पाँच करोडको सुनसहित चार उज्वेकिस्तानी पक्राउ

शुक्रबार, १६ फागुन, २०८१
डिजिटल संस्करण

नेपालमा उज्वेकिस्तानका नागरिकले समेत सुन तस्करी गर्न थालेका छन् । करिब पाँच करोड रुपैयाँबराबरको सुनसहित प्रहरीले बुधबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार उज्वेकी नागरिकलाई पक्राउ गरेको छ । 

४१ वर्षीय तुरसुनोभ सानदोर सुन तस्करीकै लागि पटक–पटक नेपाल आएको आशंका प्रहरीको छ । दुबईबाट नेपाल आएका तीन महिला र एक पुरुषलाई तीन किलो ७४५ ग्राम सुनसहित बुधबार साँझ प्रहरीले विमानस्थलमा पक्राउ गरेको थियो । सानदोर यसअघि १० पटकसम्म नेपाल आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले बताए । उनीसँग सुन बरामद भने भएको छैन । उनीसँगै आएका ४९ वर्षीया फेजिभा साउदत, ४८ वर्षीया अख्मेदोभा उमेदा र ५४ वर्षीया मारिफालिभा दिलफुजालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट तीन केजी ७४५ ग्राम सुन बरामद भएको छ । सुनको मूल्य करिब पाँच करोड रुपैयाँ पर्ने प्रहरीले जनाएको छ । 

मलद्वारमा लुकाएर उनीहरूले सुन तस्करीको प्रयास गरेका थिए । भन्सारको चेकजाँच कटिसकेपछि प्रहरीले शंका लागी पक्राउ गरेर अनुसन्धान गर्दा उनीहरूसँग सुन भेटिएको हो । सुनका साना टुक्रा मलद्वारमा पोको पारेर राखिएको थियो । 

पर्यटक भिसामा नेपाल आएका उनीहरूको मुख्य उद्देश्य सुन तस्करी नै भएको प्रहरीको आशंका छ । पक्राउ परेका सानदोरले नै सबै खर्च गरेर उनीहरूलाई नेपाल ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनले नेपालमा ल्याएर कसलाई सुन दिन्थे भन्ने खुल्न सकेको छैन । दुबई बसेर उनले नेपालमा सुन तस्करी गराउँदै आएको प्रहरी अधिकारी बताउँछन् । उनीहरूको नेपालतर्फको सञ्जाल खुल्न सकेको छैन । थप अनुसन्धानका लागि चारैजनलाई भन्सार कार्यालय पठाइएको एसएसपी राठौरले बताए । 

सुझावित समाचार