सुदूरपश्चिम प्रदेश सभाका चार विषयगत समिति सभापतिले लिए शपथ

आइतबार, ४ फागुन, २०८१
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेश सभाका चारवटा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । राजनीतिक दलहरूबिच समिति नेतृत्वमा भागबन्डा भएपछि सभापति निर्विरोध बनेका हुन् ।

नवनिर्वाचित सभापतिले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुख भीमबहादुर भण्डारीले चारैजनालाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । 

सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल माओवादीका सांसद अक्कलबहादुर रावल चयन भएका छन् । अन्य तीन समितिको नेतृत्व सत्तापक्षले गरेका छन् । सामाजिक विकास समितिको सभापतिमा एमालेका धर्मराज पाठक र अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी सर्वसम्मत चयन भएका हुन् ।

यस्तै, विशेषाधिकार समितिको सभापतिमा कांग्रेसकी तुलसी देवकोटा सर्वसम्मत चयन भइन् । सत्तारूढ दलबिच भागबण्डा मिलाउन यो समिति अहिले गठन गरिएको हो । यसअघि प्रदेश सभामा चार समिति थिए । तीमध्ये अर्थविकास तथा प्राकृतिक स्रोत समिति एक वर्षदेखि नेतृत्वविहीन थियो।

यस्तै, सामाजिक र सार्वजनिक लेखा गत जेठदेखि नेतृत्वविहीन थिए । सभापति मन्त्री बनेपछि नेतृत्वविहीन समितिहरूका कामकारबाही प्रभावकारी हुन सकेका थिएनन् ।
विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा भने गत वर्ष पुसदेखि कांग्रेसका दिवानसिंह विष्ट छन् । समिति सभापतिले प्रदेश सभाबाट गाडी, इन्धन र चालक सुविधा पाउँछन् । सत्तारूढ कांग्रेस र एमालेबिच सार्वजनिक लेखाको नेतृत्व प्रमुख प्रतिपक्षी माओवादीलाई दिने र एउटा समिति थप गरेर तीन दलले एक-एक समितिको नेतृत्व लिने सहमति यसअघि भएको थियो । 

सरकारका कामकारबाहीको निगरानी गर्ने र प्रदेशमा आर्थिक सुशासन कायम गर्ने दायित्व रहेका समितिहरू नेतृत्वमा भागबन्डा नमिल्दा लामो समय नेतृत्वविहीन थिए । दोस्रो प्रदेश सभा सुरु भएको एक वर्षपछि मात्र गत वर्ष पुसमा समितिले नेतृत्व पाएका थिए । तर, सभापति मन्त्री बनेपछि केही महिनामै समिति नेतृत्वविहीन बनेका थिए ।
 

सुझावित समाचार