वीरमा विस्तारित अस्पताल सेवा सुरु गरिने

बिहिबार, १ फागुन, २०८१
डिजिटल संस्करण

वीर अस्पतालले अब नियमित समयबाहेक अन्य समयमा विस्तारित अस्पताल सेवा सुरु गर्ने भएको छ । अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले अबको चार–पाँच दिनमै विस्तार सेवा सुरु गर्ने बताए । ‘अस्पतालले अब विस्तारित सेवा सुरु गर्छ, यो भनेको अन्य समयमा दिइँदै आएको सेवा अवधि बढाउने हो, ४ बजेपछि नियमित सेवा बन्द हुन्छ, त्यसपछि राति ८ बजेसम्म विस्तारित सेवा सुरु हुन्छ,’ उनले भने, ‘यसमा ओपिडीदेखि अप्रेसनसम्मको सेवा पाइन्छ ।’ 

पौडेलका अनुसार सुरुको चरणमा केही विभागबाट विस्तारित सेवा सुरु गर्ने र त्यसलाई सबै विभागमा लागू गर्दै लगिनेछ । विस्तारित सेवाका लागि बिरामीले अनलाइनबाटै टिकट काट्न सक्ने व्यवस्था मिलाइनेछ । सुरुमा मुटु, दाँत, कोलोन्सकपीलगायत सेवा सुरु गरिनेछ । यो सेवा सुरु भएपछि बिरामीले साँझ ७ बजेसम्म ओपिडी सेवा लिन सक्नेछन् ।

दिवा सेवा बन्द भएपछि मात्रै विस्तारित सेवा सुरु हुनेछ । विस्तारित सेवामा उपचार सेवा लिन चाहनेले ३ देखि ७ बजेसम्म टिकट बुकिङ गर्न सक्नेछन् । अस्पतालले यो सेवाका लागि छुट्टै सफ्टवेयर बनाउने र त्यसलाई सिस्टममा राखिनेछ । हाल अस्पतालले नियमित सेवाअन्तर्गत बिहान ८ देखि दिउँसो ४ बजेसम्म उपचार सेवा दिने गरेको छ । यो समयमा बिरामीको संख्या उल्लेखनीय देखिएको भन्दै थप समयमा पनि सेवा विस्तार गर्न लागिएको हो । त्यसका लागि भएकै जनशक्ति परिचालन हुने अस्पताल प्रशासनले जनाएको छ । 

नौवटा आइसियू बेड र १२ वटा क्याबिन उपचार कक्ष थपियो
अस्पतालले बुधबारदेखि थप नौवटा आइसियू बेड पनि सञ्चालनमा ल्याएको छ । अब वीर अस्पतालको आइसियू बेड संख्या ५५ पुगेको छ । ‘आइसियू बेड पनि थपेका छौँ, यसले सेवा दिन थप सहज हुनेछ,’ पौडेलले भने, ‘थप आइसियू बेड सर्जिकल भवनमा राखिएको छ, बिहीबारदेखि नै १२ वटा क्याबिन उपचार सेवाका लागि थपेका छौँ, यसले देशभरिबाट आउने बिरामीलाई थप टेवा पुग्नेछ ।’ हाल वीर अस्पतालमा सबै गरेर ९६० बेड सञ्चालन भइरहेको छ ।

सुझावित समाचार