- पाटनबाट अपहरण गरेर भारत लैजान कलंकी गेस्ट हाउसमा बन्धक बनाइएका बालकको उद्धारसँगै अपहरणकारी पनि नियन्त्रणमा, २३ वर्षीय भियतनामी अपहरणकारी बोल्छन् १७ भाषा
घरखर्च जुटाउन पाटन कृष्ण मन्दिरपरिसरमा चिया बेच्नु सरिता तामाङको नियमित कर्म थियो । आमाकै वरिपरि खेल्दैखेल्दै दिन कटाउँथे चार वर्षीय पल चेपाङ । सरिताको चियाका ग्राहक नियमित पिउने भरियादेखि कहिलेकाहीँ पुग्ने विदेशी पर्यटकसम्म हुन्थे । गत क्रिसमसदेखि एक विदेशी युवक सरिताको चियाको स्वादमा पल्किए । नियमितजसो त्यहाँ पुग्ने युवकले सरिताका छोरा पललाई मिठामिठा चकलेट दिएर प्रेम दर्शाउँथे । आफ्नो नियमित ग्राहक बढेकोमा सरिता खुसी थिइन्, नयाँ ‘अंकल’ले थरीथरी चकलेट दिएपछि पल पनि मख्ख थिए ।
तर, गत बिहीबार बिहान पल एक्कासि पाटन मन्दिरपरिसरबाटै गायब भए । आफ्नैवरिपरि खेल्दाखेल्दैको छोरो हराएपछि सरिता झस्किइन् । केही घण्टा खोज्दा पनि छोरा नभेटिएपछि उनले प्रहरीलाई उजुरी गरिन् । आमासँगको प्रारम्भिक सोधपुछमै पल अपहरणमा परेको शंका लागेपछि प्रहरीले प्राविधिक अनुसन्धान थाल्यो । नभन्दै प्रहरीले उनलाई कलंकी मकालु पेट्रोल पम्पनजिकैको इलाम मेची गेस्ट हाउसको कोठा नं. १०७ मा बन्धक बनाएर राखेको अवस्थाबाट उद्धार गर्यो । अपहरणकारी युवक भियतनामी नागरिक २३ वर्षीय मैहोङ किनलुनलाई पनि पक्राउ गर्यो । सरिता त्यतिवेला झन् छाँगाबाट खसेजस्तो भइन्, जब छोरा अपहरण गर्ने व्यक्ति आफ्नोमा नियमित चिया पिउन आउने उही विदेशी युवक थियो भन्ने पत्तो पाइन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार किनलुनले पललाई बिहीबार बिहान ४:४४ बजे पाटन कृष्ण मन्दिरनजिकै ढालचा चोकबाट अपहरण गरेका थिए । त्यसपछि ट्याक्सीमा हालेर कलंकीको मेची गेस्ट हाउसमा पुर्याएका थिए । कलंकी पुर्याउँदासम्म अपहरणकारीले दुईवटा ट्याक्सी प्रयोग गरेको प्रहरीले जनाएको छ । पललाई भारतको पन्जाबस्थित बालगृहमा लैजान लागेका किनलुनले काठमाडौंबाट शुक्रबार बिहानै हिँडाउन खोजेका थिए । त्यसका लागि न्यु साजन एसी सोफा विथ स्लिपर कोचको बस नं. ६८१८ को सिट नं. ३ र ४ को टिकटसमेत काटिसकेका थिए । धन्न प्रहरीले त्यसअघि बिहानै बालकको उद्धार गर्यो, अपहरणकारीलाई पनि पक्राउ गर्यो ।
‘बालकको २४ घण्टापछि सकुशल उद्धार भएको छ । उनलाई भारतको पन्जाब लैजाने योजना रहेको खुलेको छ । घटनामा संलग्न भियतनामी नागरिक पक्राउ परेका छन् । उनीविरुद्ध अनुसन्धान जारी छ,’ एसपी आचार्यले भने ।
प्रहरीका अनुसार किनलुन गत २५ डिसेम्बरमा नेपाल आएका थिए । क्रिसमस मनाउने क्रममा पाटन पुगेका उनले त्यसै दिनदेखि पललाई चकलेट दिएर नजिक्याएका थिए । एसपी आचार्यले अपहरणकारीसँग भारतीय आधारकार्ड रहेको र विभिन्न मुलुक र जातिले बोल्ने १७ भाषा बोल्ने क्षमता रहेको पनि बताए ।
‘यसले २५ गते नै बच्चालाई भारत लैजान खोजेको रहेछ । प्रहरीको अप्रेसनपछि त्यही दिन पक्राउ पर्यो । उससँग भारतीय आधारकार्ड पनि छ । यसले विभिन्न मुलुक र जातिले बोल्ने १७ भाषा बोल्छ । मान्छे सोचेभन्दा धेरै नै शंकास्पद देखिन्छ । अनुसन्धान जारी छ, नयाँ तथ्य खुल्दै जालान्,’ एसपी आचार्यले भने ।