रविविरुद्ध बहस गर्न महान्यायाधिवक्ता कार्यालयले खटायो तीन जिल्लाबाट सरकारी वकिल

बिहिबार, २४ माघ, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध बहस गर्न महान्यायाधिवक्ता कार्यालयले थप तीन जिल्लाबाट चितवनमा सरकारी वकिल खटाएको छ । चितवनमा पर्याप्त सरकारी वकिल भए पनि पर्सा, बारा र धादिङबाट सरकारी वकिलका प्रमुखहरूलाई नै चितवन पठाइएको छ ।  

चितवनको साहारा चितवन सहकारीको रकम अपचलनमा प्रतिवादी रहेका लामिछाने बुधबार जिल्ला अदालतमा उपस्थित भएका थिए । बुधबार बयान भएकोमा बिहीबारदेखि बहस सुरु भएको छ । जसका लागि महान्यायाधिवक्ता कार्यालयले ठुलो संख्यामा सरकारी वकिल खटाएको हो ।  

पर्सा जिल्लाका न्यायाधिवक्ता भोलानाथ निरौला, बाराका जिल्ला न्यायाधिवक्ता शम्भुकुमार बस्नेत र धादिङका दशरथ पंगेनीलाई चितवन अदालतमा खटाइएको छ । 

चितवनमा लामिछानेविरुद्ध ठगीको मुद्दा मात्र दायर गरिएको छ । उनलाई संगठित अपराध मुद्दा नचलाएको भन्दै जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेललाई मंगलबार नै हटाएर रवि न्यौपानेको सरुवा गरिएको थियो । न्यौपानेसहित चितवनबाट समेत चारजना सरकारी वकिलले बहस गर्दै छन् । 

बहस सकिए आजै थुनछेक आदेश आउनेछ। 
 

सुझावित समाचार