पाथीभराको समस्या समाधान गर्ने जिम्मा सामान्य प्रशासन मन्त्रालयलाई

आइतबार, २० माघ, २०८१
डिजिटल संस्करण

पाथीभरा क्षेत्रमा केबुलकार निर्माणका सम्बन्धमा देखिएको समस्याको आवश्यक समन्वय गर्न गृह मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिएको छ । केबुलकार नियमनको विषय संघीय मामिलाअन्तर्गत पर्ने भएकाले स्थानीयका सवाल र सरोकारका विषयलाई समन्वय र सहजीकरण गरी तत्काल पहल अगाडि बढाउन शुक्रबार गृहले पत्र पठाएको हो ।

गृह मन्त्रालयका शाखा अधिकृत ऋषिकेश खतिवडाद्वारा हस्ताक्षरित पत्रमा ‘केबुलकार नियमनको विषय त्यस मन्त्रालयअन्तर्गत पर्ने भएको हुँदा सो सम्बन्धमा स्थानीय रूपमा उठेका सवाल र सरोकारका विषयलाई समेत ध्यान दिँदै सबै सरोकारवालाहरूसँग समन्वय र सहजीकरण गरी उक्त समस्याको समाधान गर्न तत्काल पहलकदमी अगाडि बढाइदिनु हुन निर्देशानुसार अनुरोध छ,’ पत्रमा भनिएको छ । १५ माघमा गृहमन्त्री रमेश लेखकले ताप्लेजुङ, इलाम र संखुवासभाका प्रतिनिधिसभाका सांसदलाई मन्त्रालयमै बोलाएर वार्ता समिति बनाउने र वार्ता गर्ने आश्वासन दिएका थिए । ताप्लेजुङका सांसदत्रय योगेशकुमार भट्टराई, लीलादेवी बोखिम र उर्मिला थेबेले गृह मन्त्रालयसँगको निरन्तरको संवाद र संघीय मामिला मन्त्रालयसँग संवाद भइरहेको बताएका छन् । १२ माघमा ‘नो केबुलकार समूह’ र प्रहरीबीच झडप हुँदा गोली चलेको थियो । गोली लागेर आन्दोलनकारी समूहका दुईसहित पाँचजना र प्रहरीतर्फ २१ जना घाइते भएका थिए । पक्राउ परेकाको रिहाइ, केबुलकार निर्माण बन्द, निर्माणस्थलबाट सशस्त्र प्रहरी फिर्तालगायतको माग गर्दै आन्दोलनरत समूहले १५ माघदेखि मेची राजमार्ग र तमोर करिडोरमा आवागमन बन्द गरेका छन् । 

पाथीभरामा निर्माणाधीन केबुलकारको विषयलाई लिएर पाँच दिनदेखि यातायात बन्द हुँदा पूर्वी पहाडी तथा हिमाली जिल्लामा दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको छ । साथै, खाना पकाउने ग्यास, चामल, तेललगायतका खाद्यवस्तुको समेत संकट देखिन थालेको छ । शनिबार केही गाउँबाट नेपाल प्रहरीको स्कर्टिङमा तरकारी बजार ल्याइएको थियो । ‘नो केबुलकार समूह’ले गत १२ माघमा भएको घटनालाई लिएर मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ आउने सबै नाकाबाट प्रवेश बन्द गरेका छन् । यदि आफूले राखेका माग पूरा नभए आइतबार ताप्लेजुङलगायत तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा र संखुवासभासमेत बन्द गरिने समूहले जनाएको छ ।

See More On

सुझावित समाचार