चीनको आर्थिक वृद्धिदर दशकयताकै सुस्त

शुक्रबार, ४ माघ, २०८१
डिजिटल संस्करण

चीनले गत वर्ष दशकयताकै सबैभन्दा कम आर्थिक वृद्धिदर हासिल गरेको तथ्यांकले देखाएको छ। आगामी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्भावित व्यापार गतिरोधले चीनलाई आगामी केही वर्ष आर्थिक वृद्धिदरमा बृहत्तर विकास गर्न समस्या हुने विश्लेषकहरूले आकलन गरेका छन्।

बेइजिङले हालैका महिनाहरूमा आर्थिक मन्दीको मारमा परेका आफ्ना उद्योग र व्यावसायिक फर्महरूलाई सबैभन्दा आक्रामक उपाय अपनाउँदै सहयोग गर्ने घोषणा गरेको छ। अर्थ व्यवस्थालाई पुनरुत्थान गर्न बजार ऋण संकट र सुस्त उपभोक्ता खर्चसहित चीनले धेरै क्षेत्रमा आर्थिक संकटको सामना गरेको छ।

बेइजिङको राष्ट्रिय तथ्यांक विभाग (एनबिएस)को आधिकारिक तथ्यांकअनुसार सन् २०२३ मा ५.२ प्रतिशत रहेको अर्थतन्त्र गत वर्ष पाँच प्रतिशतले वृद्धि भएको थियो। बढ्दो बाह्य दबाब र आन्तरिक कठिनाइका कारण जटिल र गम्भीर वातावरणको सामना गर्दै यो वृद्धि भएको एनबिएसले जनाएको छ।

अर्थतन्त्रले अझै पनि ‘कठिनाइ र चुनौती’को सामना गरिरहेको अधिकारीहरूले स्वीकार गरेका छन्। उपभोक्ता भावनाको एक प्रमुख मापक खुद्रा बिक्री ३.५ प्रतिशत बढेको छ। यो सन् २०२३ मा रेकर्ड गरिएको ७.२ प्रतिशतको वृद्धिको तुलनामा व्यापक गिरावट हो।

तर, औद्योगिक उत्पादन भने अघिल्लो वर्षको ४.६ प्रतिशतको तुलनामा वृद्धि भई  ५.८ प्रतिशत कायम भएको छ। कोभिड–१९ महामारीका आर्थिक उथलपुथलका वर्षहरूबाहेक चीनको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर सन् १९९० यताकै सबैभन्दा कम हो।

एएफपीले गरेको सर्वेक्षणमा सन् २०२५ मा आर्थिक वृद्धिदर ४.४ प्रतिशतमा झर्ने र सन् २०२६ मा चार प्रतिशतभन्दा तल झर्ने अनुमान छ। तथ्यांकले यस हप्ताको सुरुमा दाबी गरेअनुसार गत वर्ष चीनको निर्यात ऐतिहासिक उच्च तहमा पुगेको थियो। देशको विशाल व्यापार अधिशेषमाथि आँधीबेहरीको बादल जम्मा हुनुको अर्थ बेइजिङले कमजोर अर्थ व्यवस्थालाई बढावा दिन निर्यातमा भरोसा गर्न सक्षम नहुन सक्छ।

अर्को हप्ता आफ्नो दोस्रो कार्यकाल सुरु गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पले चीनमाथि कडा प्रतिबन्ध लगाउने चेतावनी दिँदै आएका छन्। बेइजिङले हालैका महिनाहरूमा अर्थतन्त्रलाई मजबुत बनाउन प्रमुख ब्याजदरहरू कटौती गर्ने, स्थानीय सरकारको ऋणलाई सहज बनाउने र घरायसी सामानहरूका लागि अनुदान कार्यक्रमहरू विस्तार गर्नेजस्ता धेरै उपायहरू अघि सारेको छ।

सुझावित समाचार