नेपाल पत्रकार महासंघले प्रधानमन्त्री केपी ओलीलाई पत्रकार र सञ्चार क्षेत्रले भोगिरहेका समस्या समाधानका लागि सोमबार सातबुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । महासंघकी अध्यक्ष निर्मला शर्मा नेतृत्वको टोलीले बालुवाटारस्थित सरकारीनिवासमा प्रधानमन्त्रीलाई भेटेर सञ्चारसम्बद्ध कानुनको कार्यान्वयन, तिनको सुधार र नयाँ कानुन निर्माणका सबै प्रक्रियामा महासंघसहित सरोकारवाला पक्षसँग संवाद, समन्वय र सहमतिको वातावरण निर्माण गर्न माग गरेको हो ।
‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अन्तर्राष्ट्रिय मापदण्ड, संवैधानिक प्रावधान र अभ्यासविपरीत कानुनी प्रबन्ध नहोस् भन्नेमा महासंघ सचेत रहेको अवगत गराउँदछौँ,’ महासचिव रामप्रसाद दाहालद्वारा जारी ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘सञ्चार क्षेत्रसँग सम्बद्ध स्थायी र अस्थायी संरचनामा महासंघको अनिवार्य प्रतिनिधित्वको नीतिगत व्यवस्थाका लागि ध्यानाकर्षण गराउँछौँ ।’ त्यस्तै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनामा संलग्न राज्य र गैरराज्य पक्षलाई कानुनी कारबाहीको माग गरिएको छ ।

महासंघले पत्रकारको निःशुल्क उपचारको व्यवस्था, महासंघको कार्यालय भवनको मर्मत–सम्भार, अशक्त पत्रकारको जीविकोपार्जनको व्यवस्था आदि सुनिश्चित गर्न पनि आग्रह गरेको छ । पत्रकारको दक्षता अभिवृद्धिका लागि तत्काल आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्न सरकारसँग महासंघले माग गरेको छ ।