पश्चिम नवलपरासीमा कुकुर मारेर सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासीको नारायणी नदीकिनार ठाडीघाटस्थित ठोकर नम्बर ५ मा पाँचवटा कुकुरको बच्चा र एउटा माउलाई निर्ममतापूर्वक हत्या गरी सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्ने दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
पक्राउ पर्नेमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका– ५ बेलवानी बस्ने अन्दाजी ३३ वर्षीय राजकुमार सारू मगर र सोही ठाउँका २८ वर्षीय अमनकुमार चिडी मगर रहेका छन् । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि कुकुर मार्नेहरूको खोजी गरी तत्काल कारबाही गर्नुपर्ने आवाज चर्को गरी उठेको थियो ।
यसरी निर्मम तरिकाले कुकुर र कुकुरका बच्चा मार्नु र भिडियोसमेत बनाई सामाजिक सञ्जालमा राख्ने कार्य मुलुकी अपराध संहिताको पशुपन्छीसम्बन्धी कसुरको उल्लंघन देखिएको भन्दै सो कसुरमा संलग्न दुईजनालाई आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए । उनीहरूलाई पशुपन्छीसम्बन्धी कसुरमा कारबाही अगाडि बढाइएको छ ।