करिडोर सडक सुधारका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पेस

बुधबार, ३ पुष, २०८१
डिजिटल संस्करण

अविरल वर्षासँगै भएको डुबान तथा बाढीका कारण बिग्रिएका उपत्यका आसपासका नदी करिडोरका सडक सुधारका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरिएको छ । उपत्यका नदी संरक्षण तथा सुधारको मुख्य अख्तियारी पाएको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले सडक सुधारका लागि प्रस्ताव पेस गरेको हो । 

समितिका सूचना अधिकृत उद्धव नेपालले उपत्यकाका नदी करिडोरमा पर्ने सडकखण्ड सुधार गर्न, नदी आसपासमा थुप्रिएका माटो, ढुंगा तथा गेग्रान सफा गर्न, नदीमा लगाइएको पर्खाल बाढीले भत्काएकाले पुनः पर्खाल लगाउन, फुटपाथ, पार्क सुधार गर्नका लागि करिब ८० करोड लागत लाग्ने भएको जानकारी दिए । 

‘गत असोजको विपद्पछि बिग्रिएको ‘बाग्मती सुन्दरता’ लाई फेरि फर्काउनु छ, सडक सुधार गर्नुपर्ने छ’, उनले भने, ‘तर हामीसँग बजेटको अभाव छ, तसर्थ आवश्यक पर्ने लागत व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरेका छौँ । बजेट आएपछि मात्रै काम अगाडि बढ्ने छ ।’ विपद्का कारण क्षतिग्रस्त बाग्मती, हनुमन्ते, मनहरा, नख्खु, गोदावरी, कर्मनासा नदी करिडोरको सडक सुधारलगायतका काम अगाडि बढाउनुपर्ने उनको भनाइ छ । 

सहरी मन्त्रालयकी प्रवक्ता विनु बज्राचार्यले अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिअन्तर्गत बाग्मती, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, हनुमन्ते, कर्मनासा नदीमा थुपारेको माटो तथा गेग्रान निकाल्ने कार्य मात्रै करिब १२ करोड ८१ लाख लागत लाग्ने अनुमान गरिएको जानकारी दिइन् । ‘नदी किनारामा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिबाट निर्माण भएको क्षतिग्रस्त नदी तटबन्धन, पर्खालको पुनःनिर्माण तथा बाटोलगायतका अन्य संरचनामा पनि क्षति पुगेको छ’, उनले भनिन्, ‘यी संरचना बनाउन करिब ८० करोड अनुमानित लागत लाग्ने छ ।’

सुझावित समाचार