भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति अशोकराज सिग्देलले बुधबार राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेशसचिव विक्रम मिश्री, रक्षासचिव राजेशकुमार सिंह र सेनापति उपेन्द्र द्विवेदीसँग भेटवार्ता गरेका छन् । उनी मंगलबार भारत भ्रमणमा गएका थिए ।
भारतीय सेनाले बुधबार गार्ड अफ अनरसहित प्रधानसेनापति सिग्देललाई मुख्यालयमा स्वागत गरेको थियो । भेटवार्तामा दुवै पक्षबिच दुई देशको रक्षा विषयमा छलफल भएको भारतीय सेनाले जनाएको छ ।
प्रधानसेनापति सिग्देललाई बुधबारै नेपाली दूतावासमा कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाले स्वागत गरे । भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले बिहीबार प्रधानसेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथी दर्ज्यानी चिह्न लगाइदिने कार्यक्रम छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भ्रमणका क्रममा सिग्देलले देहरादुनस्थित भारतीय सैनिक प्रतिष्ठानमा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ ।