माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ कात्तिकमा झाँक्री प्रकाश भुजेल चढेको गाडीले ठक्कर दिँदा ज्यान गुमाएका नारायण नगरकोटी र श्रीमती सानुमाया नगरकोटीका दुई छोरीको अभिभावकत्व पार्टीले लिने प्रतिबद्धता जनाएका छन् । पीडित बालिकालाई शैक्षिक सामग्री सहयोग एवं हस्तान्तरण गर्न शनिबार कागेश्वरी मनोहर नगरपालिका आलापोटमा आयोजित कार्यक्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
सो क्रममा उनले समाजमा दुःख–पीडामा रहेकाहरूलाई सहयोग गर्नु नेपाली समाजको संस्कृति भएको उल्लेख गरे । उनले भने ‘समाजमा पीडामा भएका र सेवा आवश्यक रहेका व्यक्तिहरूलाई सहयोग गर्ने भावना नेपाली समाजको संस्कृति नै हो, यसलाई बढाएर लैजानुपर्छ ।’ यस्ता व्यक्तिको अभिभाकत्व सरकारले लिनुपर्ने भए पनि अहिलेको सरकार भन्ने एउटा र गर्ने अर्को अवस्थामा रहेको उनले टिप्पणी गरे ।
दुर्घटनामा नगरकोटीदम्पतीको ज्यान गएको खबर सुनेपछि पीडितको आलापोटस्थित वासस्थानमै पुगेर भेटेको उनले स्मरण गरे । प्रचण्डले भने, ‘मेरो घोषणालाई सुनेर सहयोग गर्ने भावना पैदा हुनु महŒवपूर्ण छ । देशैभरिका जनताका लागि यो एउटा सन्देश पनि हो ।’ उनले १२ कक्षासम्म पार्टीले नै अभिभावकत्व लिएर बुबाआमा गुमाएका गरिमा र अनुलाई राम्रो वातावरणमा पठनपाठनको व्यवस्था मिलाउने बताए । उनको घोषणालाई समर्थन गर्दै उद्धव नेपालले गरिमा र अनुलाई कक्षा १२ सम्म अध्ययन गर्दा आवश्यक पाठ्यपुस्तकलगायतका शैक्षिक सामग्री र पोसाक सहयोग गर्ने घोषणा गरेका छन् ।