धनगढी बजारभित्र रहेको डिपो सार्ने निगमको तयारी

मंगलबार, २७ कार्तिक, २०८१
डिजिटल संस्करण

नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित घना बस्तीमा रहेको सुदूरपश्चिम प्रादेशिक कार्यालय राष्ट्रिय आवास कम्पनीको जग्गामा स्थानान्तरण गर्ने भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा रहेको करिब ७४ बिघा जग्गामध्ये २५ बिघा जग्गा खरिद गरेर डिपो स्थानान्तरण गर्न लागेको हो ।

स्थानीय बासिन्दाले बस्तीको बिचमा प्रज्वलनशील पदार्थको नियमित कारोबार हुँदा दुर्घटनाको उच्च जोखिम रहेको भन्दै लामो समयदेखि डिपो स्थानान्तरणका लागि दबाब दिइरहेका छन् । धनगढी डिपोका प्राविधिक कर्मचारी इन्जिनियर जगदीशप्रसाद जोशीले हाल डिपो रहेको जग्गा साँघुरो भएको र पेट्रोलियम पदार्थ लोडिङ–अनलोडिङमा समस्या भएकाले सार्न खोजिएको बताए । निगमका अनुसार हाल धनगढी डिपो करिब एक बिघा आठ कट्ठा क्षेत्रफलमा फैलिएको छ । 

प्रत्येक प्रदेशमा कम्तीमा ९० दिनको माग धान्न पुग्ने पेट्रोलियम पदार्थ भण्डारणगृह निर्माण गर्ने सरकारी योजना भए पनि धनगढीको यो डिपोको मौज्दातबाट सुदूरपश्चिम प्रदेशका लागि सात दिनको मात्र माग धान्न पुग्छ । डिपोमा हाल डिजेल भण्डारणका लागि सात सय ६० किलोलिटरका दुईवटा ‘भर्टिकल ट्यांक’ र ७० किलोलिटरको भूमिगत ट्यांक तथा पेट्रोल भण्डारणका लागि सात सय ६० किलोलिटरको एक भर्टिकल ट्यांक र ७० किलोलिटरको भूमिगत ट्यांकसहितका संरचना छन् ।

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले पनि स्थानीयवासीबाट गुनासो आइरहेकाले निगमको जग्गा स्थानान्तरण गर्न पत्राचार गरिसकेको र निगमबाट सकारात्मक जवाफ आएको बताए । उनले भने, ‘हामीले निगमको प्रादेशिक कार्यालयलाई पत्राचार नै गरी बजार क्षेत्रबाट अर्काे ठाउँमा सार्न आग्रह गरेका थियौँ । उहाँहरूले सार्छाैँ भन्नुभएको छ ।’

निगम उपनिर्देशकद्वय प्रदीप यादव र दिवाकर मल्लिक सम्मिलित समितिले २६ असार ०८० मा निगमको डिपोलाई स्थानान्तरण गरी नयाँ डिपो निर्माण गर्ने प्रयोजनार्थ राष्ट्रिय आवास कम्पनी लिमिटेडको स्वामित्वमा रहेको कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित जग्गाको स्थलगत अवलोकन तथा अध्ययन गरी प्रतिवेदन तयार गरेको थियो । प्रतिवेदनले निगमको धनगढीस्थित डिपोलाई त्यहाँ स्थानान्तरण गर्न उपयुक्त रहेको निष्कर्ष निकालेको थियो । 

सुझावित समाचार