लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाललाई दिएका छन् । छिमेकी देश चीन भ्रमणमा जान लागेका मुख्यमन्त्री आचार्यले आफू नफर्किँदासम्मको लागि मन्त्री ढकाललाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन् ।
मुख्यमन्त्री आचार्यले कात्तिक २५ गते (आज) आइतबारदेखि लागू हुने गरी लुम्बिनी प्रदेश सरकार कार्यसम्पादन नियमावली, २०७४ पछिल्लो संशोधनको नियम १४ को उपनियम ३ बमोजिम मन्त्री ढकाललाई कार्यवाहक मुख्यमन्त्रीको कार्यसम्पादन गर्ने गरी जिम्मेवारी तोकेका छन्। नेपालको संविधान र अन्य प्रचलित कानुनको अधीनमा रही तोकिएको कार्य जिम्मेवारी सम्पादन गर्न अनुरोध गरिएको छ ।
सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्री आचार्यसहित सात सदस्यीय प्रतिनिधिमण्डल सोमबार चीन जान लागेको हो । सिचुआन प्रान्तमा समन्वय र विकासको विषयमा छलफल गर्न (नोभेम्बर ११ देखि १३) कात्तिक २६, २७ र २८ गते अन्तर्राष्ट्रिय सम्मेलन हुँदै छ । यो भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्तबिच पारिस्परिक सहयोग तथा सदभाव थप अभिवृद्धि गर्ने विश्वास लिइएको छ । भ्रमणको क्रममा लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई अघि बढाउन दुईपक्षीय सहयोग र सहकार्यबारे समेत उच्चस्तरीय भेटवार्ता हुनेछ ।
०७६ सालमा प्रदेश सरकार र सिचुआन प्रान्तबिच भगिनी सम्बन्ध कायम गरिएको थियो । कृषि, उद्योग, पर्यटनलगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्तबिच सहयोग आदान–प्रदान गर्ने समझदारी भएको थियो ।