मानव तस्करी आरोप लागेका कोशी प्रदेश सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री तथा सांसद लीलाबल्लभ अधिकारीलाई २४ घण्टाभित्र चित्तबुझ्दो स्पष्टीकरण दिन एमाले कोशी प्रदेश संसदीय दलले निर्देशन गरेको छ । आइतबार बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकपछि प्रमुख सचेतक रेवतीरमण भण्डारीले विज्ञप्ति जारी गर्दै पत्र प्राप्त भएको २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नआएमा दलको विद्यानअनुसार कारबाही हुने चेतावनी दिएका छन् ।
प्रमुख सचेतक भण्डारीका अनुसार निवर्तमान मन्त्री तथा प्रदेश सभा सांसद अधिकारी संसदीय दललाई कुनै जानकारी नगराई र राज्यको कानुनी प्रक्रिया अवलम्बन नगरी जापान भ्रमण गएको छ र मानव तस्करजस्तो आरोपमा डिपोर्ट भएर फर्कनुपरेकोले सिँगो सांसदहरूको मानमर्दन भएको छ । भण्डारीले विज्ञप्तिमा भनेका छन्, ‘तपाईंले विद्यानको दफा २१ (१) को खण्ड ख विपरीत कार्य गर्नुभएको छ । यसैले विद्यानको दफा २३ को खण्ड ख, ग र घ बमोजिम किन करबाही नगर्ने भनेर चित्तबुझ्दो जवाफ बुझाउनुपर्नेछ । यदि बुझाएको जवाफ चित्तबुझ्दो नभएमा तपाईंमाथि विद्यानबमोजिम कारबाही भइजानेछ।’
नक्कली कागजात बनाएर तीनजनालाई जापान लगेको घटनामा अनुसन्धान गर्नका लागि पूर्वमन्त्री तथा सांसद अधिकारीलाई प्रहरीले आइतबार विराटनगर– २ मुनालपथस्थित उनकै घरबाट नियन्त्रणमा लिएर काठमाडाैं लगेको छ । निवर्तमान मन्त्री तथा सांसद अधिकारीलाई एमाले कोशी प्रदेश कमिटीले पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरिसकेको छ ।
यसैगरी, कोशी प्रदेशका संसदीय दलहरू माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादीलगायतका दलहरूले सिंगो नेपाल सरकार र प्रदेश सांसदहरूको शिर निहुर्याएको भन्दै निष्पक्ष छानबिन गर्न माग गरेका छन् । मोरङको क्षेत्र नम्बर २ को २ बाट एमालेबाट निर्वाचित अधिकारी कोशीको वर्तमान सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए । उनी तीनपटक मन्त्री बनिसकेका सांसद हुन् ।
