निजीकरण गरिएका दुई उद्योगले तिरेनन् ५० करोड, लिज अवधि थप्दै सरकार

मंगलबार, २० कार्तिक, २०८१
डिजिटल संस्करण

सरकारले जग्गा तथा भवन भाडामा लगाएर निजीकरण गरिएका दुई कारखानाको लिज अवधि थप्ने तयारी गरेको छ । अर्थ मन्त्रालयले भक्तपुर इँटा तथा टायल कारखाना र नेपाल रोजिन एन्ड टर्पेन्टाइन प्रालिको लिज अवधि थप्न गृहकार्य गरिरहेको स्रोतले जानकारी दिएको छ । 

महालेखा परीक्षकको ६१औँ वार्षिक प्रतिवेदनअनुसार भक्तपुर इँटा तथा टायल कारखानाको नाममा सरकारलाई बुझाउनुपर्ने भाका नाघेको साँवा र ब्याज रकम ४८ करोड ९० लाख पुगेको छ । त्यस्तै, नेपाल रोजिन एन्ड टर्पेन्टाइन प्रालिले ९१ लाख तिर्न बाँकी छ । यी दुई कारखानासहित रघुपति जुट मिल्स, विराटनगर जुट मिल्स र लुम्बिनी चिनी कारखानाबाट सरकारले दुई अर्ब ९० करोड ४९ लाख उठाउन बाँकी रहेको महालेखाको प्रतिवेदनले देखाएको छ । निजीकरण गर्दाको सम्झौताअनुसार यो रकम सरकारलाई तिर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

२२ पुस ०६० मा अर्थ मन्त्रालयको सचिवस्तर र आरआरबी इन्टरप्राइजेजबिच भक्तपुर इँटा कारखाना लिमिटेडको जग्गा र भवनको पट्टा सम्झौता भएको थियो । त्यस्तै, ५ चैत ०६९ मा अर्थ मन्त्रालयको सहसचिवस्तर र भक्तपुर इँटा टायल उद्योग प्रालिबिच भएको पूरक सम्झौता २१ पुस ०८० मा म्याद सकिएको थियो । तर, भाडाबापत रकम असुली नभएपछि यसको नवीकरण अघि बढ्न सकेको थिएन । सरकारसँग भएको सम्झौताअनुसार यो कारखानाले सर्वसाधारणलाई ४५ प्रतिशत सेयर उपलब्ध गराउनुपर्ने थियो । यद्यपि, हालसम्म यो सम्झौता पूरा हुन सकेको छैन । यो कारखानाको सम्पत्ति एक करोड ४५ लाख रुपैयाँमा बिक्री गरिएको थियो भने ४२ लाख १२ हजार रुपैयाँ वार्षिक भाडा उठाउने गरी सम्झौता गरिएको थियो ।   

त्यस्तै, नेपाल रोजिन टर्पेन्टाइन प्रालिको २९ वैशाख ०६३ मा लिज सम्झौता भएको थियो । यसको सम्पत्ति पनि ११ करोड एक लाख रुपैयाँमा बिक्री गरिएको थियो भने २० लाख १२ हजार वार्षिक भाडामा लिज सम्झौता गरिएको थियो । बिचमा वन विभागबाट म्याद थप पनि गरिएको थियो । जसअनुसार नेपाल रोजिन एन्ड टर्पेन्टाइनको जग्गा दिव्या रोजिन एन्ड टर्पेन्टाइनलाई भाडामा दिएको अवधि ८ जेठ ०८० मा सकिएको थियो । यो उद्योगले सम्झौताअनुसार हालसम्म पाँच करोड १२ लाख रुपैयाँ १७ किस्तामा बुझाउनुपर्नेमा ६५ लाख रुपैयाँ मात्रै तिरेको छ । लिज अवधि नवीकरण नभए पनि सञ्चालनमा रहेका भक्तपुर इँटा तथा टायल कारखाना र नेपाल रोजिन एन्ड टर्पेन्टाइन प्रालि नाफामा रहेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा ०८१ मा उल्लेख छ ।  

निजीकरणको निर्णय मन्त्रिपरिषद्को बैठकले तय गर्ने भएकाले यसमा अर्थ मन्त्रालयले निर्णय गर्न नसक्ने संस्थान समन्वय महाशाखा प्रमुख दीर्घराज मैनालीले जानकारी दिए । उनले भने, ‘निजीकरण गरिएका दुई कारखानाको भवन तथा जग्गा भाडामा लगाएको अवधि सकिएको छ । अब भाडा सम्झौता नवीकरण गर्ने वा नगर्ने विषयमा छलफल भइरहेको छ ।’

सुझावित समाचार