आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी ओली सरकार सञ्चालन गर्न असक्षम रहेकाले नैतिक रूपमा कुर्सीमा बस्न नमिल्ने टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाउँदै उनले मुलुक र जनताको हित चाहने हो भने कुर्सीमा टाँसिइरहन आवश्यक नभएको बताए ।
सरकारी उद्योग सञ्चालन गर्न नसकेर सरकार निजीकरण गर्ने निर्णयमा पुगेपछि आजपा अध्यक्ष साहले त्यसको विरोध गरेका छन् । सरकारको सो निर्णयको आलोचना गर्दै उनले सरकारी उद्योग बिचौलिया व्यापारीसँग साँठगाँठ गरेर बेच्न लागेको गम्भीर आरोप लगाए ।
‘प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले सरकारी उद्योगहरूलाई चलाउनुको सट्टा बिचौलिया व्यापारीहरूसँग बेच्ने खेलमा लागेका छन् । अर्थात् सरकारी उद्योगहरू निजीकरण हुँदै छन्,’ उनले भने, ‘जाबो एउटा उद्योग चलाउन नसक्ने सरकारले देश कसरी चलाउन सक्छ ?’
एउटा सामान्य व्यक्तिले गर्न सक्ने काम पनि दुईतिहाइको सरकारले गर्न नसक्ने भएपछि प्रधानमन्त्री कुर्सीमा बस्न नमिल्ने उनको भनाइ छ ।