राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश बर्बादीतिर गइरहेको भन्दै त्यसमा सहभागी नहुन कीर्तिपुरवासीलाई आग्रह गरेका छन्। मंगलबार पार्टीको कीर्तिपुर नगर कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै लिङ्देनले राप्रपालाई नै भोट दिन आग्रह गरे।
आगामी उपनिर्वाचनमा राप्रपाले नै जित्ने दाबी गर्दै उनले भने, ‘राप्रपाले नजितेर कसले जित्छ त ? राप्रपालाई भोट नदिएर त्यही कांग्रेसलाई भोट दिने ? त्यही एमालेलाई भोट दिने ? त्यही माओवादीलाई भोट दिने ? देश यत्रो बर्बाद भयो अनि त्यो बर्बादीमा आफैँ सहभागी हुने कीर्तिपुरवासी ?’
राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै अध्यक्ष लिङ्देनले वैकल्पिक पार्टीको फेद–टुप्पो नै नभएको बताए। राप्रपाबाहेक अर्को विकल्प नभएकोमा जोड दिँदै उनले थपे, ‘कि कुनै अर्को हावादारी जसको कुनै योजना पनि छैन, फेद के हो, टुप्पो के हो, केही पनि थाहा छैन । कुनै अनुभव पनि छैन । भोलि उसले जित्यो भने के गर्छ पनि थाहा छैन । त्यसै अलग्गै विकल्प भनेर हावामा भोट दिएर फेरि बाँकी समय बर्बाद गर्ने ?’
राप्रपाबाहेक नेपालमा भ्रष्टाचारविरोधी अर्को पार्टी नभएको लिङ्देनको दाबी छ।