तनहुँको बन्दीपुरबाट पिकनिक खाएर फर्कने क्रममा नवलपुरकी एक छात्रा मुग्लिनबाट बेपत्ता भएकी छिन्।मध्यविन्दु नगरपालिकाको कुमारवर्ती माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थी तनहुँको बन्दीपुर घुम्न गएका थिए। घुमेर फर्कने क्रममा कक्षा ११ मा पढ्ने १९ वर्षीया विपना चौधरी बेपत्ता भएको क्याम्पसले जनाएको छ।
विद्यार्थी लिएर फर्किँदै गरेको बस नारायणघाट–मुग्लिङ सडकखण्डको तीन नम्बर पुलमा शौच गर्न रोकेको थियो। शौच गरेर नफर्किएपछि विपनाको रातिदेखि नै खोजी सुरु गरिएको क्याम्पसका शिक्षक नारायण अर्यालले बताए। विद्यार्थी बेपत्ता भएपछि शिक्षक र अभिभावक राति नै मुग्लिन पुगेका थिए ।
शौच गर्ने क्रममा विपना त्रिशूलीमा खसेको आशंका गरिएको छ। उनी हराएको स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा अभिभावकहरूले खोजीकार्यलाई निरन्तरता दिइरहेको अर्यालले बताए ।
इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार उनी हराएको स्थानमा हिजोदेखि नै खोज्ने काम गरिएको छ । डुंगाको प्रयोग गरेर त्रिशूली नदीमा खोजीकार्यलाई निरन्तरता दिइएको भण्डारीले बताइन् ।