प्रहरी अनुसन्धानप्रति महान्यायाधिवक्ता नै असन्तुष्ट, औँल्याए दर्जन कमजोरी

सोमबार, १२ कार्तिक, २०८१
डिजिटल संस्करण
प्रहरी अनुसन्धानप्रति महान्यायाधिवक्ता नै असन्तुष्ट, औँल्याए दर्जन कमजोरी

रमेश बडाल ,महान्यायाधिवक्ता

प्रहरीको अनुसन्धान शैलीप्रति सरकारका महान्यायाधिवक्ता रमेश बडालले नै असन्तुष्टि जनाएका छन् । प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा उनले कतिपय अनुसन्धानमा आधारभूत विषयमा समेत प्रमाण संकलन नहुने र कतिपयमा अनावश्यक प्रमाण संकलन हुने गरेको बताए ।

‘फौजदारी न्याय प्रणालीमा देखिएका चुनौतीहरू र सुधारका विषयहरू’ विषयक गोष्ठीमा बडालले आफ्नोमा आइपुगेका फाइलमा धेरै कमजोरी रहेको उदाहरण सुनाए । चोरीका मुद्दामा औँठाछाप जाँच नहुने, लागुऔषध मुद्दामा दुव्र्यसनीको रगत जाँच नहुने, अभियुक्त घटनास्थलमा रहे–नरहेको भन्ने हेर्न मोबाइल ट्र्याकको विवरण नहुनेजस्तो प्रवृत्तिले अनुसन्धान प्रतिवेदन कमजोर हुने उनको भनाइ छ । कतिपय मुद्दामा भने अति अपराधीकरण गरिनेमा पनि उनले प्रहरीको ध्यानाकर्षण गराए ।

केही बालकले पसलबाट मार्कर चोरेको घटनामा डाँका मुद्दा चलाइएको उदाहरण दिँदै उनले त्यस्ता अनुसन्धान र अभियोजनमा विचार गर्न प्रहरी र सरकारी वकिललाई आग्रह गरे । बलात्कार उद्योगका मुद्दामा पनि अनुसन्धानमाथि उनले प्रश्न उठाएका छन् । ‘जबर्जस्तीकरणी मुद्दामा अलि बढी अनुसन्धान भयो कि भन्ने लाग्ने पनि देखिन्छ,’ उनले भने, ‘जबर्जस्तीकरणी उद्योग भयो भनेर जाहेरी पर्छ, त्यसमा हामी हाइमन परीक्षण गर्छाैँ, परीक्षण गरेर फेला पर्छ के ? त्यो त आवश्यक नै छैन ।’

हचुवाका भरमा संगठित अपराध मुद्दा चलाउँदा देशको अन्तर्राष्ट्रियस्तरमा बदनाम हुने उनको चिन्ता छ । ‘२५ दिनमा अनुसन्धान गर्न सकेनौँ भने अब संगठित अपराधमा कन्भर्ट गरेर लैजाने प्रक्रिया ठिक हो ? नितान्त बेठिक हो,’ उनले भने, ‘हुँदै नभएको संगठित अपराधलाई संगठित अपराधमा परिणत गर्दै जाने हो भने भविष्यमा नेपालमा संगठित अपराध तथ्यांक एकदमै बढ्छ, दुनियाँले नेपाललाई कसरी हेर्न सक्छ ? संगठित अपराधको हब भनेर बुझ्छन् । यो कुरा दिमागमा राखेर मात्र अनुसन्धान र अभियोजन गर्नुपर्छ ।’

दुई–चार दिनमै अनुसन्धान सकिने मुद्दामा पनि २५ दिनसम्म थुनामा राख्ने प्रवृत्तिमाथि पनि उनले प्रश्न उठाएका छन् । अभद्र व्यवहार, बैंकिङ कसुर (चेक बाउन्स)जस्ता मुद्दामा १० दिनभित्रै अनुसन्धान प्रतिवेदन बुझाउनुपर्ने बडालको भनाइ थियो । साथै, अन्य मुद्दाको अनुसन्धानमा पनि हदम्याद सकिने एक दिनअघि मात्र अनुसन्धान प्रतिवेदन बुझाउने भएकाले सरकारी वकिलले हेर्न नै नभ्याउने हुँदासमेत कमजोर हुने गरेको उनको भनाइ छ ।

एउटै मुद्दामा कोही थुनामा हुने र कोही वर्षाैँसम्म फरार हुँदा मुद्दा निरूपणमा समस्या भएको र यसले थुनामा बस्नेलाई अन्याय हुने गरेकाले ६ महिनाभित्र म्याद तामेली गर्ने प्रणाली बनाउनुपर्नेमा जोड दिए । ६ महिनाभित्र म्याद तामेली हुन नसकेमा पत्रिकामा सूचना प्रकाशन गरी म्याद तामेल गर्नुपर्ने प्रस्ताव महान्यायाधिवक्ता कार्यालयको भए पनि त्यो कार्यान्वयन हुन नसकेको उनको गुनासो छ । बालविवाह तथा भागी विवाहको विषयमा अपहरण र जबर्जस्तीकरणी मुद्दा चलाउन अन्याय हुने भन्दै उनले प्रहरीको ध्यानाकर्षण गराए ।

 यथार्थपरक अभियोजन गर्न  प्रधानन्यायाधीशको सुझाव
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले प्रभावकारी र यथार्थपरक अभियोजन गर्न प्रहरी र सरकारी वकिललगायत निकायको ध्यनाकर्षण गराएका छन् । प्रहरीले आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै उनले बयानमुखीभन्दा सबुत प्रमाणमुखी अनुसन्धान गर्न जोड दिए ।

‘सूचना प्रविधिले थपेको सहजताका अलावा सिर्जना गरेका अकल्पनीय चुनौतीको व्यवस्थापन एवं सम्बोधनका लागि अनुसन्धानको कौशलमा बढोत्तरी गर्नु अत्यावश्यक छ,’ उनले भने, ‘यस्तै, प्रविधिको गहिरो अभिरुचि राखी तथ्य र कानुनको संयोजनबाट प्रभावकारी एवं यथार्थपरक अभियोजन गर्नुपर्ने कुरामा म सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।’ प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले अनुसन्धानकर्ता, अभियोजनकर्ता र न्याय निरूपणकर्ताबिचको व्यावसायिक समन्वयात्मक सम्बन्धले अनुसन्धान, अभियोजन र न्याय निरूपण कार्य त्रुटिरहित र प्रभावकारी भई न्यायको अनुभूतिसँगै कानुनी शासनको प्रत्याभूतिसमेत सुनिश्चितता हुने बताए ।

सुझावित समाचार