अर्थ मन्त्रालयले तीन महिनाका लागि तय गरेको अर्थतन्त्र सुधारका अधिकांश कार्यायोजना लागू भएको दाबी गरेको छ । ३२ साउनमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधारका लागि सय दिनमा गर्ने कामको विवरण सार्वजनिक गरेका थिए ।
त्यतिबेला सार्वजनिक भएका अधिकांश योजना लागू गरिएको मन्त्रालयको भनाई छ । अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनाभित्रमा भएका महत्वपूर्ण कार्यहरू सार्वजनिक गरेको छ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेका कार्यहरूमा मुलुकको अर्थतन्त्र सुधारका लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार आयोग गठन, आन्तरिक राजस्व परिचालन रणनीतिको कार्यान्वयन, कन्ट्री क्रेडिट रेटिङको तयारी पूरालगायतका बिषय समेटिएका छन् ।
मन्त्रीको कार्यसम्पादन विवरण सार्वजनिक गर्दै मन्त्रालका प्रवक्ता महेश भट्टराईले अर्थतन्त्रमा चुनौती रहेपनि पहिलेको तुलनामा सुधार आइरहेको बताएका छन् । उनले तीन महिनामा निजी क्षेत्रको आत्मविश्वास बढेको, गत वर्षको यसै अवधिको तुलनामा पूँजीगत खर्च र राजस्व सङ्कलन बढेको, व्याजदर कम भएको, निजी क्षेत्रतर्फ प्रवाहित कर्जा वृद्धि भएको, पूँजी बजार चलायमान भएको, विदेशी मुद्रा सञ्चिति बढेको र रेमिट्यान्स वृद्धि भएको जानकारी दिए ।
अर्थतन्त्र सुधारका लागि पूर्व अर्थसचिव रामेश्वर खनालको नेतृत्वमा पाँच सदस्यीय समिति यही अवधिमा गठन गरिएको छ । त्यस्तै राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती टोली गठन गरी परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।