निर्मला कुर्मीको न्याय माग्दै आन्दोलनरत अधिकारकर्मी डेंगु संक्रमणले थलिए

शुक्रबार, १८ असोज, २०८१
डिजिटल संस्करण

बाँकेको नेपालगन्ज उपमहानगरपालिका– १७ परस्पुरकी निर्मला कुर्मीको न्यायका लागि ५६ दिनदेखि आन्दोलनमा उत्रिएका अधिकारकर्मी बिरामीले थलिएका छन् । डेंगु र रुघाखोकी संक्रमणपछि उनीहरू थलिएका हुन् । 

हत्या संलग्न अभियुक्तविरुद्धको मुद्दा अदालतमा पेस गरिनुपर्ने मागसहित उनीहरू गत २५ साउनदेखि माइतीघर मण्डलामा आन्दोलनरत छन् । तर, प्रहरीले घटनामा संलग्नविरुद्धको मुद्दा अझै अदालतमा पेस गरेको छैन । जबकि घटनाको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत मंसिरमै प्रहरी प्रधान कार्यालयमा प्रतिवेदन पेस गरेको थियो । प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा पेस गर्न सरकारी वकिल कार्यालय बाँकेमा पठाइसकेको छ । तर, मुद्दा अझै सरकारी वकिल कार्यालयमा दर्ता हुन सकेको छैन । 

आन्दोलनमा सहभागी रुबी खानले अभियुक्तविरुद्धको मुद्दा अझै अदालतमा पेस नभएको बताइन् । ‘निर्मला कुर्मीको अपहरणपछि हत्यामा संलग्नविरुद्धको अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगेको छ । तर, मुद्दा अझै अदालतमा पेस हुन सकेको छैन । ५६ दिनदेखि आन्दोलनमा छौँ । तर, हाम्रो माग सुनुवाइ हुन सकेन,’ उनले भनिन् ।

आन्दोलनको अगुवाइ गरिरहेकी रुबीलाई डेंगु संक्रमण भएको आठ दिन भयो । उनीसँगै आन्दोलनरत सुखरानी चमार, मनकुमारी गुरताल, बाबादेई रैदास, बानी चमार रुघाखोकीबाट संक्रमित छन् । ज्वरोका कारण शरीरको तामक्रममा उतारचढाव छ । तर, उनीहरूले आन्दोलन रोकेका छैनन् । संक्रमित शरीरलाई घिसार्दै उनीहरू प्रत्येक दिन बिहान १० बजे हिँडेरै माइतीघर मण्डालामा आइपुग्छन् । साँझ ५ बजे हिँडेरै कलंकीस्थित वासस्थान पुग्छन् । 

‘डेंगुले ६ दिनसम्म उठ्न सकिनँ । तर, साथीहरूले आन्दोलनलाई निरन्तरता दिए । उनीहरू पनि बिरामी छन् । रुघाखोकीको संक्रमणबाट उनीहरू ग्रस्त छन् । लगातारको झरी र चिसोले सबैको शरीर सुन्निएको छ । डेंगु भएको आठ दिनपछि म पनि आन्दोलनमा सहभागी भएको छु । हाम्रो माग अदालतमा मुद्दा दर्ता गरिनुपर्ने मात्रै हो । तैपनि सरकारले सुनिरहेको छैन,’ रुबीले भनिन् ।

निर्मला कुर्मी २५ माघ ०७५ को राति अचानक बेपत्ता भएकी थिइन् । अपहरणपछि उनको हत्या गरिएको पुष्टि १४ पुस ०७७ मा भएको थियो । घटनामा बाँके नेपालगन्ज उपमहानगरपालिका– १७ का बादशाह कुर्मी, कृष्णकुमारी सिंह, कुँवर बब्बरसिंह ठाकुर, उर्मिला कनोजिया, अम्मरलाल कुर्मी, धीरेन्द्र सिंह, रमेश थापा, पार्वती विष्ट संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य मनकुमारी गुरतालले जाहेरी दिएकी थिइन् । उनीहरूविरुद्ध २० चैत ०७७ मै किटानी जाहेरी परेको थियो । तर, उनीहरूमध्ये हालसम्म कसैलाई पनि पक्राउ गरिएको छैन । संदिग्धमध्ये बादशाह कुर्मीलाई लुम्बिनी प्रदेश सरकारले गत ९ साउनमा मन्त्री नियुक्त गरेको थियो । रनहामा परेका पीडित पक्षले गत २५ साउनदेखि माइतीघर मण्डलामा धर्ना सुरु गरेको थियो । धर्नाको २३ दिनसम्म पनि सरकारको ध्यान नगएपछि उनीहरूले माइतीघर मण्डला–बालुवाटार मार्च गरेका थिए । चौतर्फी दबाबपछि मन्त्री पदमा नियुक्त कुर्मीले मन्त्री पदबाट राजीनामा दिएका छन् । 

सुझावित समाचार