आजबाट रामेछाप–दोलखा हुँदै काठमाडौंसम्म गाडी चल्ने

बिहिबार, १७ असोज, २०८१
डिजिटल संस्करण

वर्षातका कारण एक हप्तादेखि अवरुद्ध बनेको रामेछाप–काठमाडौं सडकमा बिहीबारबाट नियमित रूपमा यातायातका साधन सञ्चालन हुने भएका छन् ।अत्यधिक वर्षाका कारण रोशीखोला, सुनकोशी र तामाकोशी नदीमा आएको पानीको उच्च बहावले रामेछाप र सिन्धुली जोड्ने सुनकोशी नदीमा रहेको पुष्पलाल राजमार्गको मोटरेबल पुल बगाएसँगै बिपी राजमार्गका विभिन्न स्थानमा सडक तहसनहस बनाएको थियो । त्यस्तै, दोलखाको सहरे गाउँपालिकाको किर्नेटारस्थित हाइड्रोपावरनजिकैको सडकसमेत कटान गरी सडक अवरुद्ध भएको हुँदा रामेछापबाट काठमाडौंसम्मको यात्रा अवरोध हुन पुगेको थियो । 

सडक अवरुद्ध भएपछि स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू, समन्वय प्रमुख, स्थानीय तहका जनप्रतिनिधिहरू, स्थानीय प्रशासन, सेना, प्रहरी, सशस्त्र प्रहरी र नागरिकहरूको पहलमा अवरुद्ध रहेको सडकहरूमध्ये दोलखाको किर्नेस्थित विद्युतगृहनजिकैबाट वैकल्पिक रूपमा सडक सञ्चालन गरी मन्थली–दोलखा हुँदै काठमाडौंसम्म सडक खुलाउन सफल भएका हुन्। 

अस्थायी रूपमा सडक खुलेसँगै आजबाट रामेछापबाट दोलखा हुँदै काठमाडौंसम्म नियमित यातायातका साधनहरू सञ्चालन गरिने अरनिको यातायात सेवा समितिका रामेछाप काउन्टर प्रमुख सुवास फुयाँलले जानकारी दिए । उनले भने, ‘वर्षाले ग्रामीण सडक क्षतविक्षत पारेका कारण अहिले तत्काल गाउँगाउँसम्म यातायातका साधनहरू सञ्चालन गर्न कठिनाइ भएको छ ।’ जति सडक सुरक्षित छन् ती सबै रुटमा निर्विवाद रूपले यातायात सेवा सञ्चालन गरिने बताए ।

 रामेछापबाट राजधानी काठमाडौंसम्म अरनिको यातायात, वेणी त्रिवेणी यातायात, सिटी भिलेज यातायात, हिमगंगा यातायात, हिमाल तराई यातायात र खाँडादेवी यातायातलगायतका समितिहरूले रामेछापका नागरिकहरूलाई नियमित सेवा प्रदान गर्दै आएका छन् । 
 

सुझावित समाचार