धानबाली नकाट्न किसानलाई आग्रह

बिहिबार, १० असोज, २०८१
डिजिटल संस्करण

मौसममा आएको परिवर्तनका कारण बाढीजन्य जोखिमका घटना बढ्न सक्ने सम्भावनालाई मध्यजनगर गरी कञ्चनपुरका स्थानीय तहले सर्वसाधारणलाई सचेत पार्ने कार्य अगाडि बढाएका छन् । बाढीको उच्च जोखिम रहेका क्षेत्रमा नगर प्रहरी परिचालन गरी सर्वसाधारणलाई सचेत पार्ने कार्य हुन थालेको हो । 

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण यही असोज १२ गतेसम्म सामान्यदेखि भारी वर्षा हुने अनुमानसहितको सूचना जारी गरिएपछि स्थानीय तहहरूले नदीतटीय क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण, विपतमा खटिने विषयगत शाखाहरू, स्थानीय विपत् व्यवस्थापन समिति, वडा कार्यालय, वडा व्यवस्थापन समिति, सामुदायिक विपत् व्यवस्थापन समितिलाई सतर्क अवस्थामा राखेको छ । 

वर्षाले विशेष गरी कृषिमा बढी प्रभाव पार्ने भएकाले सो अवधिमा धानबाली नकाट्नका लागि जानकारी दिन नगर प्रहरीलाई परिचालन गरिएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताए । ‘किसानको धानबालीमा वर्षाले प्रभाव पार्ने भएकाले सचेत गर्ने कार्य गरिरहेका छौँ,’ उनले भने, ‘यससँगै थारू बाहुल्य क्षेत्रमा नदीनाला र पानी जम्मा हुने ठाउँमा माछा मार्ने कार्य गरिने हुँदा वर्षा भइरहेका वेला चटयाङ पर्ने  सम्भावना हुने भएकाले त्यसबारे पनि सचेत पार्दै छौँ ।’

बाढी, डुबान र कटानको जोखिम देखिएमा सम्बन्धित वडा कार्यालय, सुरक्षा निकायमा खबर गर्नका लागि आग्रह गरिएको उनले उल्लेख गरे । भारी वर्षा भएमा बस्तीनजिक बाढी र डुबानको जोखिमलाई मध्यनजर गरी वडा कार्यालय र सम्बन्धित सरोकारवालाहरूको समन्वयमा सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाइएको उनकाे भनाइ छ ।

विपतकाे समयमा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गर्भवती, बालबालिकाको विशेष ध्यान राख्नका लागि सर्वसाधारणमा आग्रह गरिएको अधिकृत विष्टले बताए । तत्काल खोज, उद्धार, प्राथमिक उपचार र राहतका लागि स्थानीय तहले आपतकालीन केन्द्रका सम्पर्क व्यक्ति र सुरक्षा निकायका सम्पर्क फोन नम्बरहरू जारी गरेका छन् । बाढीजन्य जोखिमलाई मध्यनजर गरी भीमदत्त नगरपालिकाले नगर प्रहरी परिचालन गरी नदीतटीय क्षेत्रका बासिन्दालाई सतर्क रहनका लागि आग्रह गर्ने कार्य  सुरुवात गरेको छ । 

See More On

सुझावित समाचार