दुई दशकदेखि अनाथ बालबालिकाहरूको संरक्षण गर्दै आएको माट्स नेपालद्वारा सञ्चालित बालकल्याण गृहले ‘बालगृहमा एक दिन’ अभियानको शुभारम्भ गरेको छ। संखुवासभाको सदरमुकाम खाँदबारीमा बुधबार एक कार्यक्रमको आयोजना गरी मकालु त्रिशक्ति समूहको माट्स नेपालद्वारा सञ्चालित बालकल्याण गृहले ‘मेरो बालगृह, मेरो जिम्मेवारी’ भन्ने नारासहित ‘बालगृहमा एक दिन’ अभियानको शुभारम्भ भएको जानकारी दिएको हो । बालगृहलाई एक दिन खाना, नाना र छाना नाम दिई अभियानलाई अघि बढाएको माट्स नेपालका सचिव ध्रुव खड्काले बताए । बालगृह सञ्चालन गर्न समस्या भएपछि स्रोत व्यवस्थापन गर्ने उद्देश्यका साथ ‘बालगृहमा एक दिन’ अभियानको सुरुवात गरिएको उनले बताए।
उक्त अभियान शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि संखुवासभाका कार्यवाहक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले आफ्ना स्वर्गीय पिताको नाममा बालगृहमा एक दिन अभियानसँग हातेमालो गर्दै नगद दुई हजार पाँच सय रुपैयाँ समितिलाई हस्तान्तरण गरे । त्यसैगरी कार्यक्रममा उपस्थित जिल्ला शिक्षा तथा समन्वय एकाइ संखुवासभाका प्रमुख गोपालमान भण्डारी, सोडेक नेपालका अध्यक्ष प्रकाश राईलगायतका अतिथिले सोही अभियानलाई साथ दिँदै एक दिनबापतको नगद दुई हजार पाँच सय रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
कोशी प्रदेश, महिला तथा बालबालिका मन्त्रालयअन्तर्गतका समन्वय केन्द्रका समन्वय अधिकृत सुमन अधिकारीले अनाथ र सहाराविहीन बालबालिकाको अधिकारका लागि काम गर्दै आएको बताए। उनले अनाथ र सहाराविहीन बालबालिकाको खोजतलास, बालगृहको अवस्थालगायतबारे अध्ययन–अवलोकनको काम गर्दै आएको बताए ।
कोशी प्रदेशभित्रका १४ वटा जिल्लामा २९ वटा बालगृह सञ्चालनमा रहे पनि हाल १८ वटा मात्रै रहेको समन्वय अधिकृत सुमन अधिकारीको भनाइ छ। माट्स नेपालका उपाध्यक्ष मुकेश मुदेलले बालगृहमा रहेका बालबालिकाको लालनपालन र शिक्षादीक्षाका लागि दिगो व्यवस्थापन हुन नसक्दा चुनौतीहरू थपिएकाले बाध्य भएर बालगृहमा एक दिन अभियान सञ्चालन गरिएको बताए । बालगृह सञ्चालन गर्न निकै चुनौतीहरूले रहेकाले तीनै तहको सरकारका साथै अझ जिम्मेवार भएर स्थानीय सरकार र विभिन्न दाताहरू व्यक्ति र संघसंस्थाले सहयोग गरे सहज हुने धारणा राखे ।
०५३ सालमा मकालु त्रिशक्ति समूह स्थापना भएको थियो भने सोही संस्थाले माट्स नेपाल गठन गरी ०६३ साल असार १८ गते बालकल्याण गृह सञ्चालन गरेको हो। खाँदबारी नगरपालिका– ७ स्थित एउटा सिँगो घर भाडा लिई बालकल्याण गृह सञ्चालन गरिरहेको छ। १८ वर्षदेखि निरन्तर रूपमा बालकल्याण गृह सञ्चालनमा रहेको छ। हाल बालकल्याण गृह आठजना अनाथ र सहाराविहीन बालबालिकाको पालनपालन र संरक्षण गर्दै आएको छ।
आठजना बालबालिका र धाई आमा एकजनासहित नौजनालाई बिहानदेखि बेलुकीसम्म खाना, खाजा र नास्ताका लागि दैनिक दुई हजार पाँच सय रुपैयाँ खर्च हुने गर्दछ । त्यसैले ‘बालगृहमा एक दिन’ अभियानअन्तर्गत दुई हजार पाँच सय रुपैयाँ एक वर्षका लागि तीन सय ६५ जना दाताको खोजीमा रहेको बताए।